माछापुच्छ्रे बैंकले ठाउँको ठाउँ एक लाख गायब बनाइदिएपछि…
काठमाडौं । माछापुच्छ्रे बैंकले एकजना खातावाल सेवाग्राहीको एक लाख रुपियाँ ठाउँको ठाउँ झण्डै झ्वाम पार्न खोजेको खुलासा भएको छ ।
बैंकको बालुवाटार शाखाका कर्मचारीहरूले बुधबार सोही शाखामा खाता रहेकी मीना अर्यालको साढे आठ लाख रुपियाँ जम्मा गर्ने बेला एक लाख रुपियाँ गोलमाल गरेर खाइदिने षड्यन्त्र गरेको रहस्य बाहिर आएको छ ।
मीन अर्यालका पति शम्भु अर्यालका अनुसार बुधबार बैंक खुल्नेवित्तिकै साढे आठ लाख रुपियाँ राख्न माछापुच्छ्रे बैंकको बालुवाटार शाखामा गएका थिए ।
बालुवाटारमा रहेको नेपाल राष्ट्र बैंकाट साढे आठ लाख रुपियाँ झिकेर अर्याल दम्पत्ति माछापुच्छ्रे बैंकमा रहेको खातामा राख्न पुगेका थिए ।
अर्यालले साढे आठ लाख रुपियाँको भौचर भरेर जम्मा गर्न काउन्टरका कर्मचारीलाई भौचरसँगै साढे आठ लाख रुपियाँ थिएका थिए ।
त्यति मात्रै होइन अर्यालले पचास हजारको बण्डलमा दुई हजार बढी रहेको पैसा समेत झिकेर साढे आठ लाख दिएका थिए । यो सबै दृश्य सीसीटीभी फुटेजमा देखिएको अर्यालले बताएका छन् ।
तर, कर्मचारीले पैसा बुझेर चेकजाँच गरिसकेपछि एक लाख पुगेन भनेर अर्याल दम्पत्तिलाई दुःख दिएको उनीहरूले गुनासो गरेका छन् । अर्यालले भने, ‘माछापुच्छ्रे बैंकले हामीलाई अपमान गरेको छ । हामी विदेशमा बस्ने मान्छे । बेलाबेला काठमाडौं आउँछौँ । यसरी दुःख दिन त भएन नि ।’
माछापुच्छ्रे बैंकको बालुवाटार शाखाबाट ठाउँको ठाउँ एक लाख रुपियाँ गायब भएपछि अर्यालले दम्पत्तिले आपत्ति जनाएका थिए । सो शाखाका कर्मचारीले एक लाख नपुगेको भनेर सीसीटीभी फुटेज पनि हेरेका थिए ।
माछापुच्छ्रे बैंकको बालुवाटार शाखाका कर्मचारीहरूले ‘राष्ट्र बैंकले नै तपाईहरूलाई एक लाख अपुग पैसा दिएको’ भनेर आक्षेप लगाएको अर्यालले बताएका छन् ।
माछापुच्छ्रे बैंकको बालुवाटार शाखाभित्र बबण्डर भएपछि एक घण्टापछि काउन्टरमा पैसा र भौचर बुझ्ने कर्मचारीले ‘एक लाख रुपियाँ टेबुलमुनि खसेको रहेछ भेटियो’ भन्दै साढे आठ लाख रुपियाँ मीना अर्यालको खातामा जम्मा गरिदिएका थिए ।
अर्याल दम्पत्ति परिवारसहित जर्मनमा बस्छन् । उनीहरू विदेशमा बस्ने भएकाले एक लाख रुपियाँका लागि बैंकलाई अनावश्यक आक्षेप लगाउनुपर्ने आवश्यक्ता नरहेको बताएका छन् ।
उनीहरू बेलाबेला नेपाल आउने गरेका छन् । माछापुच्छ्रे बैंकले एक लाख रुपियाँ ठाउँको ठाउँ गायब बनाएर उल्टै दोष लगाएर बद्नाम गर्न खोजेपछि अर्यालले दम्पत्तिले प्रहरीलाई बोलाएर कारबाही गर्नेसम्मको चेतावनी दिएका थिए । प्रहरीको धम्कीपछि माछापुच्छ्रे बैंक बालुवाटार शाखाका कर्मचारीहरू हच्किएका थिए ।
त्यति मात्रै होइन माछापुच्छ्रे बैंक बालुवाटार शाखाका कर्मचारीहरूले अर्याल दम्पत्तिको शरीर खानतलासी गर्न पनि लगाएका थिए । यति ठूलो अपमान भएपछि अर्याल दम्पत्तिकी छोरीलाई तनाब भएको थियो ।
उता, माछापुच्छ्रे बैंक बालुवाटार शाखाकी प्रमुख मनीषा ज्ञवालीले काउन्टरमा पैसा डिपोजिट गर्ने भाई (कर्मचार)ले भेरिफाइ नगरेर पैसा लिने क्रममा पैसा काउन्ट गन्ने मसिनको पछाडि एक लाख रुपियाँ खसेको दाबी गरिन् ।
‘त्यस्तो केही पनि होइन । पैसा भेरिफाइ नगरिकन भाई (कर्मचारी)ले बुझ्नु भएको रहेछ । काउन्ट गर्ने मसिनको पछाडि पैसा खसेको रहेछ’, उनले भनिन्, ‘पैसा भेटियो । माफी मागेर पैसा जम्मा गरिदिएका छौँ ।’
शाखाकी प्रमुख ज्ञवालीले अर्याल दम्पत्तिलाई कुनै पनि अपमान नगरेको बताइन् । उनले नभेटिएको त्यो एक लाख अर्याल दम्पत्तिको झोलामा छुटेको छ कि भनेर हेर्न लगाएको तर खानतलासी नगरेको दाबी गरिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया