दाङमा प्रहरीलाई हातपात गर्ने ‘अरिँगालहरू’काे भागाभाग, वारेन्ट जारी

घोराही । बर्दी लगाएर शान्ति सुरक्षा कायम गर्न डिउटीमा खटिएका प्रहरीलाई हुत्यायर हातपातसहित दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय दाङले दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

राप्ती स्वास्थ्य प्रतिष्ठान बचाउ समितिको नाममा तालाबन्दीको कार्यक्रममा डिउटीमा रहेका प्रहरीलाई हुत्यायर हातपातसहित दुर्व्यवहार गरेपछि प्रहरीले लिखित रुपमा प्रतिवेदन तयार गरेर घोराही भरतपुरका विवेक श्रेष्ठ र लक्ष्मीपुरका नवीन नेपाली ‘अभिलाषी’माथि मुद्धा दर्ता यसअघि नै गरिसकेको थियो । श्रेष्ठ र नेपाली सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय जिल्ला नेता हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमले प्रहरीले आफै नै किटानी जाहेरीसहित नेकपाका नेता श्रेष्ठ र नेपालीविरुद्ध मुद्धा दर्ता गरेको जानकारी दिए ।

उनीहरूलाई पक्राउका लागि वारेन्ट जारी भइसकेको गौतमले बताएका छन् ।

श्रेष्ठ र नेपालीलाई पक्राउ गर्नका लागि प्रहरीको टोली परिचालन गरिएको उनले जानकारी दिएका छन् ।

नेकपाका स्थानीय जिल्ला नेता श्रेष्ठ र नेपालीसहितका युवाहरूले बर्दीमा डिउटीमा खटिएका प्रहरीलाई हुत्याउने कार्य गरेका थिए ।

प्रहरी आफूले डिउटीमा रहेका प्रहरीलाई हुत्याउने र हातपात गर्नेहरूविरुद्ध प्रतिवेदन बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक गौतमले प्रहरीले जसरी पनि श्रेष्ठ र नेपालीलाई पक्राउ गरेर छाड्ने जनाएका छन् ।

उनले भने, ‘कानून विपरीत काम गर्नेलाई पक्राउ गर्दैन कि भनेर भ्रममा नपर्न सबैलाई मेरो आग्रह छ ।’

जिल्ला प्रहरी कार्यालय दाङबाट सरुवा भएर सोमबार धनुषातीर लागेका एसपी बेलबहादुर पाण्डेले आफू रवाना हुने बेला नेकपाका स्थानीय नेताद्वय श्रेष्ठ र नेपालीविरुद्ध प्रहरीले प्रतिवेदनसहित हातपात र हुत्याउने कार्य गरेको निष्कर्षसहितको मुद्धा दर्ता गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक गौतमका अनुसार पत्रकार महासघ दाङका अध्यक्ष सविन प्रियासनसहित आन्दोलनरत पत्रकारको रोहबरमा बर्दी लगाएको प्रहरीमाथि हुत्यायर हातपात भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

श्रेष्ठ र नेपालीले प्रहरीमाथि सार्वजनिक ठाउँमा डिउटीमै रहेका बेला हुत्यायर हातपात गरेको भिडियो समेत दाङ प्रहरीले प्रमाणका रुपमा राखेको छ ।

दाङका प्रहरी निरीक्षक गौतमले प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुुरेलमाथि हातपातको घटना र प्रहरीमाथि हातपात भएको दुबै मुद्धासँगै चल्ने बताएका छन् ।

रजिष्टारमाथि हातपातसहित लछारपछार गरेर घोक्रेठ्ययाक लगाउने नेकपाका नेता श्रेष्ठसहित किटानी जाहेरी दिएकाहरूको खोजीकार्य जारी रहेको निरीक्षक गौतमले बताए ।

प्रतिष्ठानले हातपातमा भिडियोमा देखिने सबैलाई कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङमा किटानीसहित जाहेरी दिएको छ ।

स्रोतका अनुसार श्रेष्ठ र नेपालीलाई कारबाही नगर्न नेकपाका ठूला नेता र मन्त्रीहरूले दाङ प्रहरीलाई दवाव दिएका छन् । तैपनि दाङ प्रहरीले नेकपाको दवावलाई बेवास्ता गर्दै वारेन्ट जारी गरेको छ ।

नेपाली कांग्रेस दाङले पनि यो प्रकरणका दोषीहरूलाई कारबाही गर्न माग गर्दै आएको छ । कांग्रेसले सडक आन्दोलन समेत गरिसकेको छ ।

(समाचार साैजन्य जागरण अनलाइन)

Published : Wednesday, 2019 September 4, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया