न्यायका लागि रवि लामिछानेले दुई हप्ता कुर्नुपर्ने

हेटौँडा । टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलले दिएको निवेदनमाथि उच्च अदालत पाटनको हेटौँडा इजलासले चितवन जिल्ला अदालतसँग प्रतिवेदन माग गरेको छ ।

बुधबार उच्च अदालत पाटनको हेटौँडा इजलासमा भएको बहस तथा पैरवीपछि न्यायाधीश टेकराज नेपालको एकल इजलासले चितवन अदालतले गरेको निर्णयको प्रतिवेदन माग गरेको हो ।

लामिछाने र कँडेलले मंगलबार अदालतमा निवेदन दिएपछि बुधबार पहिलो सुनुवाइ गर्दै त्यही विषयको प्रतिवेदन पेस गर्न जिल्ला अदालत चितवनलाई आदेश गरेको उच्च अदालत पाटनको हेटौंडा इजलासका प्रवक्ता अमृत घिमिरेले बताए ।

आदेशमा चितवन अदालतमा रहेको शुरु प्रमाण मिसिल तथा सरकारी वकिलको कार्यालयलाई समेत जानकारी दिइ प्रस्तुत प्रतिवेदन पेस गर्न आदेश भएको लामिछाने र कँडेलका कानून व्यवसायी राजेन्द्र सेढाईले बताए ।

दुई हप्ताभित्रमा प्रतिवेदन पेस हुने र मुद्दाको विषयमा सुनुवाइ हुने बताइएको छ ।

प्रतिवेदनपछि लामिछाने र कँडेलको पक्षमा वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू सुनिलकुमार पोखरेल, राजेन्द्र सेढाई र अमृतकुमार लामा समेतले बहस गर्ने बताइएको छ ।

गत भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश विपरीत रहेको भनि फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको त्यो आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछाने र कँडेलले मंगलबार निवेदन दर्ता गराएका थिए ।

चितवन जिल्ला अदालतबाट भएको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गरी पाऊँ भन्दै निवेदन दर्ता गरिएको उच्च अदालत पाटनको हेटौंडा इजलासका प्रवक्ता अमृत घिमिरेले जानकारी दिएका छन् ।

शंकास्पद भिडियोलाई वस्तुनिष्ठ मानी प्रमाणको रुपमा लिइ शर्तसहित आदेश गरिएका र धरौटी माग गरिएकाले निवेदन दर्ता गरिएको हो ।

गएको भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भनि फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरी पाऊँ भनी निवेदन दर्ता गराएका छन् ।

Published : Wednesday, 2019 September 4, 3:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया