मलेसिया र खाडीका कामदारको जीवन रक्षा प्रमुख एजेण्डा बन्नुपर्छः कुल आचार्य
क्वालालाम्पुर । गैरआवासीय नेपाली संघ (एनआएनए)का केन्द्रीय उपाध्यक्ष कुल आचार्यले मलेसिया तथा खाडी मुलुकमा कार्यरत नेपालीहरूको जीवन रक्षामा चिन्ता जनाएका छन् ।
एनआरएनए राष्ट्रिय समन्वय परिषद मलेसियाको छैटौं अधिवेशनलाई सम्बोधन गर्दै आचार्यले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीहरूको मर्यादित रोजगारीका विषयमा गैरआवासीय नेपाली संघको प्रमुख एजेन्डा हुनुपर्ने बताए ।
आचार्य एनआरएनएको केन्द्रीय अध्यक्ष पदका दावेदार हुन् ।
हरेक दिन कम्तीमा दुई जना नेपालीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाने गरेको भन्दै उपाध्यक्ष आचार्यले नेपाली कामदारका लागि यो विषयमा दुखद् रहेको बताए ।
उनले मलेसियामा हरेक दिनजसो नेपाली दाजुभाइहरूको हृदयाघात भएर मृत्यु हुनुका साथै अंगभंग र घाइते हुने जस्ता समस्या रहेको बताएका छन् । यो समस्यालाई पनि समाधान गर्नेतर्फ एनआरएनएले विशेष जोडदिनुपर्ने उनले बताएका छन् ।
‘विभिन्न समस्यामा परेका नेपाली दाजुभाई, दिदीबहिनीहरूलाई सहयोग गर्न तपाईंहरूले एउटा कल्याणकारी कोष स्थापना गर्न लाग्नु भएको थाहा पाउँदा मलाई निकै खुसी लागेको छ’, उनले भने, ‘त्यसमा मेरो व्यक्तिगत तथा संस्थागत पूर्ण सहयोग रहनेछ ।’
एनआरएनएका अध्यक्ष भवन भट्टले जस्तै आफूले पनि बेलायतमा भाडा माझेर व्यवसाय शुरु गरेको स्मरण गर्दै उनले भने, ‘मलेसिया लगायतका मुलुकहरूमा काम गर्ने नेपालीहरूको पीडा मैले राम्रोसँग बुझेको छु ।’
‘गैरआवासीय नेपाली संघ धन हुनेभन्दा पनि मन हुनेहरूको संस्था हो’, उपाध्यक्ष आचार्यले भने, ‘संस्थालाई सबै गैरआवासीय नेपाली अटाउने साझा चौतारी बनाउनुपर्छ भन्ने मेरो प्रमुख मिशन छ ।’
एनआरएन युकेका पूर्वअध्यक्ष आचार्यले एनआरएन युकेले एउटा कल्याणकारी कोष खडा गरेको भन्दै त्यसबाट पीडित नेपालीहरूलाई सहयोग गर्ने परिपाटी शुरु गरेको बताए ।

कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, एनआरएनए अध्यक्षका भवन भट्ट, एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष खगेन्द्र न्यौपानेले पानसमा दीप बालेर सम्मेलनको उद्घाटन गरेका थिए ।
नेपाली युवाको मुख्य वैदेशिक रोजगार गन्तव्यका रूपमा रहेको मलेसियाको रोजगारी गत एक वर्षभन्दा बढी समयदेखि बन्द छ ।
मलेसिया जाने नेपाली कामदारको संख्या घटे पनि मृत्यु र अंगभंग हुनेको संख्यामा सबैभन्दा अगाडि छ ।
वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार गत वर्ष करीब २०० जना नेपालीले ज्यान गुमाइसकेका छन् । ६७ जना गम्भीर रूपमा अंगभंग भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया