वाइडबडीलाई एक करोड घाटा

काठमाडौं । वाइडबडी घोटाला काण्डले चर्चित नेपाल वायुसेवा निगमको वाइडबडी विमानलाई जापानको पहिलो उडानमा एक करोड घाटा लागेको छ ।

जापानको ओसाकाबाट वाइडबडी विमानले ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौं फर्किएपछि एक करोड रुपियाँ घाटा लागेको हो ।

जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको छ ।

निगमको विमान बिहीबार बिहान साढे २ बजे १ सय ४६ यात्रु लिएर जापानको ओसाकातर्फ उडेको थियो ।

जापानले नेपाललाई ओसाका र नारितामा सातामा १४ वटा उडान अनुमति दिएको छ ।

३ सय यात्रु क्षमताको वाइडबडी विमानले जापानमा वार्षिक कम्तीमा २ लाख यात्रु एकतर्फी उडान गर्न सक्ने अनुमति नेपालसँग छ ।

ओसाका राजधानी टोकियोदेखि ६ सय किलोमिटर दूरीमा पर्छ । यी दुई सहरको सडकयात्रा साढे ७ घण्टा हाराहारी पर्छ ।

निगमले काठमाडौं–ओसाकाका लागि एकतर्फी हवाई भाडा ३७ हजार र दुईतर्फी ७२ हजार तोकेको छ ।

वाइडबडी विमान सुरुवाती चरणमाअत्यधिक घाटा बेहोर्दै जापान उडान थालेको छ ।

निगमको वाइडबडी उडानमा प्रतिघण्टा साढे १६ लाख रुपियाँ सञ्चालन खर्च लाग्छ ।

सात घण्टा हाराहारीको एकतर्फी उडानमा कम्तीमा १ करोड १५ लाख रुपियाँ सञ्चालन खर्च बेहोर्नुपर्छ ।

बिहीबार ओसाकाबाट फर्किंदा निगमले प्रतियात्रु ३७ हजार रुपियाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजार रुपियाँ मात्रै उठाउँदा १ करोड रुपियाँ घाटा बेहोर्नु परेको उच्च स्रोतले जनाएको छ ।

बिहीबार बिहानको पहिलो उडानमा पनि कम्तीमा ७० लाख घाटा बेहोर्नुपरेको छ ।

Published : Friday, 2019 August 30, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया