महान्यायाधिवक्ता नेतृत्वको टोली भारत भ्रमणमा

काठमाडौं । संघीय सरकार तथा सात प्रदेश सरकारका वरिष्ठ अधिवक्ताहरू सम्मिलित १२ सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणमा गएको छ ।

महान्यायाधीवक्ता अग्नि खरेलको नेतृत्वमा भदौ ८ देखि १४ गतेसम्मका लागि भारतको ७ दिने अवलोकन भ्रमणमा गएका हुन् ।

भ्रमणको उद्देश्य भारतको महान्यायाधिवक्ता र राज्यका महाधिवक्ताबीचको सम्बन्धका साथै केन्द्रीय र राज्य न्यायिक प्रणालीबीचको सम्बन्धको अध्ययन गर्नु रहेको छ ।

प्रतिनिधिमण्डलले भारतको सर्वोच्च अदालत, दिल्ली उच्च अदालतको भ्रमण गर्नुका साथै नयाँदिल्लीस्थित भारतीय विधि संस्थानमा एक दिनेकार्यशालामा भाग लिएका छन् ।

उच्चस्तरीय प्रतिनिधिमण्डलले भदौ ११ देखि १३ गतेसम्म गुजरातको भ्रमण गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा गुजरात उच्च अदालतको भ्रमण गरी त्यहाँका महाधिवक्तासँग भेटघाट गर्नुका साथै गान्धीनगरस्थित गुजरात फोरेन्सिक विज्ञान विश्वविद्यालयमा (जीएफएसयु) एक दिने कार्यशालामा भाग लिने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

महान्यायाधिवक्ता खरेलले भदौ १० गते भारतीय समकक्षीलाई भेटेर आपसी हितको विषयमा छलफल समेत गरेका थिए ।

Published : Thursday, 2019 August 29, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया