बाराका हुरीपीडितहरूलाई तरुण दलद्वारा नगद सहयोग प्रदान
बारा । नेपाल तरुण दलले बारा र पर्सा जिल्लाका हावाहुरीबाट ज्यान गुमाएका परिवारहरूलाई पूर्वघोषणाअनुसार आर्थिक सहयोग प्रदान गरेको छ ।
नेपाली कांग्रेस बाराको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले हावाहुरीबाट ज्यान गुमाएका ३१ जनाको परिवारलाई नगद सहयोग प्रदान गरेका हुन् । कार्यक्रममा नेपाली कांग्रेस बारा र पर्साका नेता तथा कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो ।
०७५ चैत १७ गतेको विनाशकारी हावाहुरीका कारण बारा र पर्सा जिल्लामा ३१ जनाको ज्यान गएको थियो भने करोडौँको क्षति भएको थियो ।
हावाहुरीका कारण ३१ जनाको ज्यान गएको थियो । ज्यान गएका ती व्यक्तिका परिवारलाई नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले जनही १० हजारका दरले नगद सहयोग प्रदान गरेको हो ।
आर्थिक सहयोग प्रदान कार्यक्रममा तरुण दलका अध्यक्ष बस्नेतका साथै केन्द्रीय कोषध्यक्ष विद्वाव गुरुङ, नेपाल तरुण दलका बारा अध्यक्ष लोकेश सिंहलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
नेपाल तरुण दलका अध्यक्ष बस्नेतले सर्वसाधारणको दुःखमा आफूहरूले जहिले पनि सक्दो सहयोग गर्ने गरेको नेपाल तरूण दल काठमाडाैंका सचिव दिनेशविक्रम शाहले जानकारी दिए ।
उनले भने, ‘हामीले त्यस बेला घोषणा गरेअनुसार बारा र पर्सा जिल्लामा हावा हुरीबाट मृत्यु भएका ३१ जनाको परिवारका सदस्यलाई जनही दश–दश हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भनेका थियौँ । त्यो बाचा आज पूरा गरेका छौँ ।’
बारा र पर्साका ३१ जनाको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न नेपाल तरुण दल अमेरिका शाखाले २ लाख आर्थिक सहयोग गरेको थियो ।
नेपाल तरुण दल दोलखा जिल्ला कार्यसमितिले १ लाख १६ हजार तथा सुरज पोखरेल (अर्घाखाँची)ले १० हजार रुपियाँ प्रदान गरेको तरुण दलले जनाएको छ । (तस्वीरः दिनेशविक्रम शाह)

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया