कीर्ते काण्डमा निर्वाचित ‘अरिँगाल’ पक्राउ, पूर्वएमालेभित्र खैलाबैला

पोखरा । तत्कालीन एमालेबाट पोखरा महानगरपालिकाको वडा नं.१८ बाट निर्वाचित वडाध्यक्ष रणबहादुर थापा पक्राउ परेका छन् ।

तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको आरोपमा वडाध्यक्ष थापा पक्राउ परेका हुन् । कास्की प्रहरीले शुक्रबार वडाध्यक्ष थापासहित वडा सदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई पक्राउ गरेको छ ।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले वडाध्यक्ष थापासहित ३ जनालाई पक्राउ गरेको जानकारी दिए ।

साउन २५ गते ८ जना पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । उनीहरूमाथि अनुसन्धानपछि वडाध्यक्षसहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पोखरा १८ सराङटका लेखबहादुर थापाले २ नातिनीलाई छोरी बनाई नागरिकता दिलाउन यिनीहरूले सहयोग गरेको प्रहरीको आरोप छ ।

तिब्बती शरणार्थीसँग बिहे गरेकी छोरीका छोरीहरूलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएको आरोप लेखबहादुर थापामाथि छ ।

लेखबहादुरका नातिनीहरू सरु र तासीआङ्मोले कास्की प्रशासनबाट जेठ २६ र असार ६ गते क्रमशः नागरिकता लिएका थिए ।

लेखबहादुरकै छोरीहरू हुन् भन्ने आधिकारिक कागजमा दस्तखत गरेका स्थानीय बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापा मगर, कमल थापा र इमा थापामगर समेत समातिएका थिए ।

लेखबहादुरले छोरी दाबी गरेकाहरू छोरी नभएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको थियो ।

नागरिकता लिन पेस गरिएका सबै कागजातमा युवतीहरूका बाबुको नाममा लेखबहादुर थापाको नाम उल्लेख छ ।

जन्मदर्ता र विद्यालयको अभिलेखमा समेत सरु र तासीआङ्मोका बाबुको नाम लेखबहादुर उल्लेख छ ।

झुठो विवरण पेस गरी नागरिकता लिएको भन्ने उजुरीमाथि कास्की प्रशासनले छानबिन गरेको थियो ।

नेपाली वंशजको नागरिकता दिलाउन झुठो विवरण पेस गरेको कास्की प्रशानको आरोप छ ।

उनीहरूलाई नागरिकता ऐन २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

झुठो विवरण पेस गरी नेपाली नागरिकता लिए १ देखि ५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनले गरेको छ ।

कास्की प्रशासनले उजुरी आउनासाथै ती युवतीहरुको नागरिकता जफत गरेको थियो ।

नागरिकता लिएका दिदी बहिनीको उमेरको फरक केवल ७ महिना छ । यही प्रकरणमा कास्की प्रशासनले ४ कर्मचारीलाई पनि विभागीय कारबाही सिफारिस गरेको छ ।

Published : Saturday, 2019 August 17, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया