लैनचौरमा भव्य कार्यक्रम, विभिन्न सामाग्री हस्तान्तरण

काठमाडौं । भारतको ७३औँ स्वतन्त्रता दिवस काठमाडौंको लैनचौरस्थित राजदूतावासमा विशेष रुपमा मनाइएको छ ।

बुधबार दूतावासभित्र आयोजित विशेष कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले भारतीय झण्डोत्तलन गरेका छन् ।

दिवसका अवसरमा भारतले नेपालका विभिन्न संघसंस्थालाई सहयोग गरेको छ । पुरीले दूतावासका तर्फबाट ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरूलाई पुस्तक उपहार प्रदान गरेका छन् ।

राजदूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरूलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ ।

यसले भारत सरकारको नेपालको सामाजिक–साँस्कृतिक विकास तर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको राजदूत पुरीले बताए ।

राजदूतद्वारा ३ वीर नारी, ५ एकल महिला, ६ मृत सैनिकका निकटतम नातेदारलाई नेरु ५.३१ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरिएको दूतावासले जनाएको छ ।

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरूलाई हालसम्म ७५२ ओटा एम्बुलेन्स र १४८ ओटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

समारोहमा राजदूतावासका कर्मचारीहरू तथा उनीहरूका परिवार लगायत नेपालमा रहेका भारतीय समुदाय र भारतका अनन्य मित्रहरूको सहभागिता थियो ।

समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौं केन्द्रीय विद्यालय र मोर्डन इण्डियन स्कुलका विद्यार्थीले देशभक्तीपूर्ण गीतहरू प्रस्तुत गरेका थिए ।

Published : Thursday, 2019 August 15, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया