कांग्रेस सचिव श्रेष्ठको निधनले पार्टीलाई ठूलो क्षति, पौडेलले ओढाए चारतारे झण्डा

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला कार्यसमिति पर्वतका सचिव ५७ वर्षीय युक्तप्रसाद श्रेष्ठको आइतबार साउन १२ गते काठमाडौंको माछापोखरीमा रहेको हिमालय सिटी सेन्टरमा रहस्यमय तवरले मृत्यु भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ ।

नेपाली कांग्रेसले सोमबार विज्ञविप्त जारी गरेर श्रेष्ठको मृत्यु हुना साथ अनुसन्धान नै नगरी पोष्टमार्टम समेत नभएको अवस्थामा प्रहरीको हवला दिंदै आत्महत्या हो भनेर संचार माध्यमहरूमा सम्प्रेषित समाचारप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेसले श्रेष्ठको निधनमा भएको प्रहरी लापरबाहीमा आपत्ति प्रकट गरेको छ ।

नेपाली कांग्रेसले भनेको छ, ‘घटनास्थलको प्रकृति हेर्दा आठ तलाबाट खसेको भनिएको घटनाको प्रत्यक्षदर्शी कोही पनि नहुनु र घटना स्थलमा रगत समेत नदेखिनु, शरीरको कुनै पनि भाग चोटपटक र अंगभंग नहुनु जस्ता कुराले घटनालाई रहस्यमय र शंकास्पद बनाएको छ ।’

‘यो घटनाको संवेदनशीलताका साथ यथार्थ छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ’, नेपाली कांग्रेसले भनेको छ ।

आइतबार काठमाडौंको माछापोखरीस्थित एक कम्प्लेक्सबाट हामफालेर नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिका सचिव श्रेष्ठले हामफालेर ज्यान दिएका थिए ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा समेत रहेका श्रेष्ठसँग बालुवाटारको सरकारी जग्गा बिक्री गरेको काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएर छानविन चलाएको थियो ।

‘स्वर्गीय श्रेष्ठको सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रियता रहेको थियो । उहाँको श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ’, नेपाली कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेस पर्वतका सचिव श्रेष्ठको सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

पार्टीका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर उनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

अन्तिम श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, जिल्लाका नेता, पार्टीका सदस्य तथा स्वर्गीय श्रेष्ठका आफन्तजनहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठनमा उनले पुराएको सक्रिय योगदान पार्टीमा सदैव स्मरणीय रहिरहने नेपाली कांग्रेसले जनाएको छ ।

उनको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको नेपाली कांग्रेसले जनाएको छ । उनको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ ।

श्रेष्ठको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस गहिरो समवेदना प्रकट गरेको छ ।

Published : Monday, 2019 July 29, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया