जावलाखेल युथ क्लवले चलाउँदै आएकाे टहरा भत्काइयाे

काठमाडौं । जावलाखेल युथ क्लबले वर्षौंदेखि कब्जामा लिएर चलाउँदै आएको ललितपुरको जावलाखेलस्थित तरकारी बजारमा सरकारले डोजर लगाएर भत्काइदिएको छ ।

क्लवले विगत २० वर्ष अघिदेखि सो क्षेत्रलाई कब्जामा लिएर भाडामा लगाएर मोजमस्ती गर्दै आएका थिए । स्टाफ कलेजनजिकैको सडक किनारमा करीब ५२ वटा टहरामा डोजर लगाएर भत्काइएको हो ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरले पसल हटाउन तीनदिने अल्टिमेटम दिएको थियो । जिल्ला प्रशासनले दिएको तीन दिनको समयभित्र सबैले आ–आफ्नो सामान अन्यत्रै सारिसकेका थिए ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको आदेशमा डोजर लगाएर ती टहरा भत्काइएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताएका छन् ।

ती टहरा भत्काउने प्रयास भएपनि स्थानीय प्रशासनले हटाउन सकेको थिएन । क्लवका नाममा अव्यवस्थित रुपमा कब्जा गरेर सो ठाउँमा टहरा बनाएर तरकारी बजार सञ्चालन गर्दै आएका थिए ।

पसल सञ्चालकहरूले उच्च अदालत पाटनमा सो ठाउँमा बस्न पाउनुपर्ने माग गर्दै दिएको रिट निवेदन अदालतले खारेज गरिदिएको थियो ।

Published : Saturday, 2019 July 27, 5:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया