तरुण दलद्वारा रौतहटमा दश लाख बराबरको राहत वितरण

चन्द्रनिगाहपुर । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले रौतहट जिल्लाका बाढी प्रभावित क्षेत्रका स्थानीय पीडितहरूलाई १० लाख बराबरको राहत वितरण गरेका छन् ।

तरुण दलका महासचिव शाहीले सोमबार रौतहट जिल्लामा राहत वितरण गरेका हुन् । उनले परोहा नगरपालिकामा त्रिपालसहितका खाद्यान्न सामाग्री वितरण गरेको तरुण दलले जनाएको छ ।

बाढीपीडित परिवारहरूको दुःखमा सानो भएपनि सहयोग पुगोस् भनेर नेपाल तरुण दलको तर्फबाट राहत वितरण गरिएको महासचिव शाहीले बताएका छन् ।

‘मानवीयता र सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार रौतहटको परोहा नगरपालिकामा राहत वितरण गरिएको छ’, उनले भने, ‘राहत सामग्री स्वरुप चामल, आटा, चिउरा, भुजिया, त्रिपाल, झुल, बाल्टिन समेत गरी झण्डै १० लाख बराबरको राहत वितरण गरिएको छ ।’

दुईतिहाइको कम्युनिस्ट सरकारका प्रभावशाली र वरिष्ठ मन्त्रीहरू हेलिकप्टरबाट बाढी प्रभावित जिल्लाहरूको अनुगमन गरेका थिए ।

मन्त्रीहरू खालीहात बाढी प्रभावितहरूको रमिता हेरेर फर्किएको भनेर आलोचना भइरहेका बेला नेपाल तरुण दलले आफ्नै बलबुतामा सानो सहयोग भनि बाढीपीडितहरूलाई गरेको छ ।

महासचिव शाहीले भने, ‘तरुण दलले सानो सहयोग गर्न पाउँदा खुसी छौँ । हामीले आफ्नो गच्छअनुसार सहयोग गरेका छौँ । हामीलाई राहत उपलब्ध गराउने दानी व्यक्ति, संघ र संस्थाहरूलाई धन्यावाद दिन चाहन्छु ।’

राहत वितरण कार्यक्रममा नेपाल तरुण दल रौतहट अध्यक्ष नौसाद आलाम, नेपाल तरुण दल लालबन्दीका अध्यक्ष सुदेश ढुंगाना लगायत युवा नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Monday, 2019 July 22, 6:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया