देश र जनताका लागि ज्यानको प्रवाह नगर्ने वीपी

काठमाडौं । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७औं स्मृति दिवस सोमबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता कोइराला बिक्रम संवत २०१५ सालको आमचुनावमा कांग्रेसले दुईतिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

बिक्रम संवत २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका हुन् ।

जननिर्वाचित सरकारलार्ई तत्कालीन राजा महेन्द्र शाहले २०१७ साल पुस १ गते अपदस्त गरी निरंकुश शासन शुरू गरेपछि कोइरालासहित नेतालाई सिंहदरबारमै बन्दी बनाइएको थियो ।

एक महिनापछि काठमाडौंको सुन्दरीजलमा कोइराला लगायत प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, कांग्रेस नेता गणेशमान सिंह लगायतलाई बन्दी बनाइएको थियो ।

२०२५ सालमामा स्वास्थ्य परीक्षणका लागि कारागारमुक्त कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित भएका थिए ।

विदेशी भूमिमा निर्वासित भएर स्वदेशको प्रजातन्त्र पुनस्र्थापनाका लागि लड्दा राष्ट्रियता कमजोर भएको र अपमान सहनुपरेको विश्लेषण गरी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थिए ।

त्यसबेला आठवटा ज्यान मुद्दा लगाइएका कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएको थियो ।

उनले प्रवर्द्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ ।

आफ्नो प्रधानमन्त्रीकालमा उनले गाउँको विकास, भूमिसुधार र सामन्तवाद अन्त्य गर्न विभिन्न नीतिगत योजना निर्माण र कार्यान्वयन गरेका थिए ।

विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, भ्रातृ संस्थाले सोमबार विभिन्न कार्यक्रम गरेका छन् ।

दिवसका अवसरमा नेपाली कांग्रेस र विपी संग्रहालय समितिले देशैभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

वीपी कोइरालाको बिक्रम संवत २०३९ साल साउन ६ गते निधन भएको थियो ।

उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका छन् ।

वीपी कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित छन् ।

दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ प्रकाशित छ । सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित आत्मवृतान्त ‘जेल जर्नल’ प्रकाशित छ ।

Published : Monday, 2019 July 22, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया