कपिलवस्तुमा गगनको जादु, अध्यक्षसहित सयौँ कार्यकर्ता कांग्रेसमा प्रवेश (तस्वीर)

चन्द्रौटा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले दुईतिहाइको कम्युनिस्ट सरकारले आफ्नो खाल्डो आफै खनिरहेको बताएका छन् ।

नेपाली कांग्रेस कपिलवस्तुले आइतबार शिवराज नगरपालिकाको वडा नं. ४ चनईमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै नेता थापाले सरकारले गल्ती गर्दै अगाडि बढेकाले कांग्रेसले सरकारको विरोध गर्न जरुरी नभएको बताए ।

‘आफ्नै खाल्डोमा आफै पुरिन लागेको सरकारलाई रामराम बाहेक अरु केही भन्न सकिदैन’, उनले भने । नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर सरकारको राम्रो कामलाई सहयोग गर्न तयार भएपनि सकारले नागरिकको पक्षमा एउटा पनि काम गर्न नसकेको थापाले आरोप लगाए ।

विकास निर्माण र विभिन्न कानुन निर्माण गर्ने प्रक्रियामा सरकारलाई सुझाव सल्लाहसहितको सहयोग गर्न प्रतिपक्ष तयार रहेपनि सरकाले प्रतिपक्षको सुझावको लिन नचाहेकाले त्यस्तो सरकारलाई सुझाव दिन्छु भन्दै आफूहरू अगाडि नबढ्ने उनले बताए ।

नेपाली कांग्रेसका नेता थापाले कम्युनिस्ट सरकार गठन भएको डेढ वर्षसम्म पनि सरकारले जनताको पक्षमा आश्वासन दिए अनुसारको काम गर्न नसकेकाले नागरिकमा निरासा छाएको बताए ।

उनले सरकारप्रति नागरिक असन्तुष्ट छन् भनेर कांग्रेस खुशी हुनुभन्दा पनि नागरिकहरू लामो संघर्षबाट स्थापति गरेको व्यवस्थाप्रति निरासा हुन्छन् की भन्ने चिन्ता गर्ने बेला आएको बताए ।

सरकारले विभिन्न बाहानामा जनतालाई आन्दोलन गर्न बाध्य बनाएको भन्दै उनले नागरिकहरू असन्तुष्ट भएकाले सडकमा त्यसको उदाहरण देखिने बताए ।

मुलुकमा प्रत्येक वर्ष ५ लाख नयाँ रोजगारीको अवसरहरू सिर्जना गर्नुपर्ने आवश्यकता रहेपनि सरकारले रोजगारको अवसरहरू निर्माण गर्न नसक्दा मुलुकबाट युवाहरू बाहिरिने क्रम नरोकिएको नेता थापाले बताए ।

स्वदेश तथा विदेशी लगानीकर्तालाई प्रोत्साहान गरी नयाँ उद्योगधन्दा स्थापना गरी रोजगारीका अवसरहरू बढाउनुको विकल्प नभएको उनले बताए ।

नेपाली काग्रेसका युवा नेता तथा प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले नेपाली कांग्रेसले कसैलाई तोडनेभन्दा पनि जोडनेतर्फ अग्रसर हुनुपर्ने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिले पनि जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने बताए ।

प्रदेश सभाका सांसद वीरेन्द्रकुमार कनौडियाले विकास निर्माणको कार्यमा सरकारले सत्तारुढ पार्टी निकटका ठेकेदारलाई मात्र स्थान दिएको बताए । दिगो रोजगारीका अवसर सिर्जना गर्नुको साटो प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा सडकमा झाडु लगाएर अर्बौ रकम सखाप पारेको उनको आरोप छ ।

कार्यक्रमलाई जिल्ला सभापति सुरेन्द्रराज आर्चाय, कांग्रेस युवा नेता अजय थापा, जिल्ला सदस्य हुमाकान्त खनाललगायतले सम्वोधन गरेका थिए ।

यसैबीच, विभिन्न पार्टी परित्याग गरी करीव १२ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेको जिल्ला कार्यसमितिका सचिव प्रेमबहादुर रायमाझीले बताएका छन् ।

नेपाली कांग्रेस प्रवेश गर्नेमा राप्रपाबाट देवराज भारती र केशरीप्रसाद जयसवाल, नेकपाबाट रामचन्द्र अधिकारी, सुनिल केवट, विजयसिंह चौधरी तथा विवेकशील साझा पार्टीका जिल्ला संयोजक विष्णुप्रसाद पराजुलीको नेतृत्वमा करीव १२ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेको क्षेत्रीय सचिव कमल क्षेत्रीले जानकारी दिए ।

उनीहरूलाई नेपाली कांग्रेसको सदस्यता युवा नेता थापाले दिएका थिए ।

Published : Sunday, 2019 July 21, 11:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया