धनगढीमा बम काण्ड, भात खान आउँदा घाइते, सिंहकाे मृत्यु
धनगढी । कैलाली जिल्लाकाे धनगढीस्थित चटकपुरमा रहेकाे निलम होटेलमा बिहीबार बेलुका भएको बम विस्फोटमा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बझाङको जयपृथ्वी नगरपालिका घर भएका रामबहादुर सिंह रहेका छन् । उनकाे उपचारका क्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा बिहीबार राति मृत्यु भएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
बम विस्फोटका कारण गम्भीर घाइते भएका उनको ढाडमा गम्भीर चोट लागेको थियो । उनले पिठ्युमा बोकेको बम अचानक विस्फोट भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।
मृतक सिंह र गम्भीर घाइते कञ्चनपुरको बेल्डाँडीका लक्ष्मण सेराला विप्लव समूहका कार्यकर्ता र माओवादी पूर्वलडाकु भएको खुलेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।
विस्फोटमा परी घाइते भएका लक्ष्मण सेराला, निलम होटलका सञ्चालक केशवराज पाण्डे, धनगढी उपमहानगरपालिका–४, का जितेन्द्र यादव र चटकपुरमा ग्यारेज सञ्चालन गर्दै आएका भारतीय नागरिक मोविन खानको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ ।
बिहीबार बेलुकी सात बजेतिर टिफिन बक्समा राखिएको विस्फोटक पदार्थ विस्फोट हुँदा उनीहरु घाइते भएका थिए । मोटरसाइकमा आएर होटेलमा नास्ता खान बसेका मृतक सिंह र घाइते सेराला आएको एकैछिनमा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
घटना स्थलबाट एक थान पेस्तोल र एक थान से७प ३१४४ नम्बरको मोटरसाइकल र टेस्टर पनि बरामद गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । उक्त मोटरसाइकल कसको हो भन्ने खोजी भइरहेको उनले बताए । घटनापछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया