करातेका मानव तस्करहरूको गिरोहको भण्डाफोर गर्नुपर्छः मीनकृष्ण महर्जन

मीनकृष्ण महर्जन, करातेका अन्तर्राष्ट्रिय रेफ्री

मीनकृष्ण महर्जन १२ वर्षै उमेरदेखि खेल क्षेत्रमा लागेका हुन् । राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष समेत रहेका महर्जन खेलकुद जगतमा निकै चर्चित व्यक्तित्व मानिन्छन् । महर्जन १५ वर्षको उमेर मै कराते खेलमा राष्ट्रिय च्याम्पियन बनेका थिए । उनी करातेका अन्तर्राष्ट्रिय खेलाडी हुँदै अन्तर्राष्ट्रिय रेफ्री रहिसकेका छन् ।

महर्जनले सन् १९८९ मा नयाँदिल्लीमा भएको दोस्रो साउथ एसियन कराते च्याम्पियनसीपमा ४० केजी तौल समूहमा स्वर्ण पदक ल्याएका थिए । उनले सन् १९९० मा बंगलादेशमा भएको तेस्रो साउथ एसिएन कराते च्याम्पियनशिपमा पनि ४० केजी तौल समूहमा स्वर्ण पदक ल्याएका थिए । सन् १९९१ मा थाईल्यान्डमा भएको प्रथम आमन्त्रित अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ४५ केजी समूहमा दोस्रो भएका थिए ।

खेलकुदमा देशको नाम राख्न सफल भएका महर्जनले पछिल्लो समय खेलकुद क्षेत्रमा आएको बिकृतिबाट चिन्तित छन् । ‘हाम्रो पालामा कराते गेम धेरै हुँदैन थियो । अहिले जस्तो महिनै पिच्छे त्यस बेला गेम हुन्थ्यो भने नेपालले धेरै गर्ने थियो’, उनले भनेका छन् । महर्जनले राष्ट्रिय कराते प्रतियोगितामा २ दर्जनभन्दा धेरै स्वर्ण पदक ल्याईसकेका छन् । महर्जन खेलाडी हुँदै सन् १९९८ मा नेपालमा भएको आठौँ साफ गेममा करातेको कोच थिए । त्यस बेला करातेमा १४ स्वर्ण १ रजत र १ कास्य पदक ल्याई नेपालले करातेमा इतिहाँस रचेको थियो । महर्जन उत्कृष्ट राष्ट्रिय रेफ्री हुँदै अन्तर्राष्ट्रिय रेफ्री बनेका थिए ।

उनले श्रीलंकामा भएको १०औँ साग गेममा रेफ्रीको भूमिका निभाएका थिए । कोरियमा भएको १३औँ एयियन गेममा पनि रेफ्रीको भूमिका निभएका थिए । महर्जन कराते प्रतियोगिता कै सिलसिलामा जापान, मलेसिया, सिंगापुर, इन्डोनेशिया, भियतनाम फ्रान्स बेल्जियम जर्मन लगायत थुप्रै देशको यात्रा गरीसकेका छन् । यिनै महर्जनसंग कराते महासंघमा भइरहेको मानव तस्कर र अन्य विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

मीनकृष्ण जी कराते महासंघ दुई चिरामा रहेको तपाईं कै पहलमा एक बन्यो भन्ने ब्याकप प्रचार छ के यो सत्यता हो ?

यो ध्रुब सत्य हो । नेपाल कराते महासंघ दुई चिरामा थियो । राष्ट्रिय मान्यता प्राप्त अध्यक्ष दावा गुरुङ नेतृत्वको महासंघ थियो । अर्को ओलम्पिक कमिटीले खडा गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त पुरेन्द्र बिक्रम लाखे नेतृत्वको महासंघ थियो । दुई चिरामा रहेको कराते महासंघमा वर्षौसम्म विवाद थियो । कराते मात्र होइन तेक्वान्दो संघ, कुस्ती संघ लगायत अन्य संघ पनि दुई चिरामा थिए ।

अनि जगत विश्वकर्मा खेलकुद मन्त्री भएर आएपछि यी विवादित संघ एक बनाउनको लागि राष्ट्रिय खेलकुद परिषद् उपाध्यक्ष पितम्बर तिमिल्सिनाको संयोजकत्वमा संघ विवाद समाधान समितिको एउटा समिति बन्यो । उहाँहरूबीचमा लामो समयसम्म छलफल भयो । कुरा निचोडमा पुगेन ।

छलफलमा मात्र सीमित रह्यो । त्यसपछि मैले पहल गरे विवाद मिलाउन । अनि हाम्रो पनि यहि करातेमा रगत पसिना बगाएको हुनाले हामीलाई पनि कराते महासंघ भाँडभैलो हुन लाग्यो भन्ने चिन्ताको विषय बनेको थियो । म त कराते छोडेर पूरै राजनीतिमा लागिसकेको थिए । विवाद मिलाउन विशेष भूमिका खेलेको छु ।

तपाई नेपाली कांग्रेसको टिकट लिएर प्रदेशमा चुनाव लडेको मान्छे कसरी खेलकुदको विकास गर्नतिर लाग्नुभयो ?

म खेलकुदको विकासका लागि अहिले पनि सक्रिय छु । करातेका खेलाडी र खेलको लागि सबै सहयोग गर्न तयार छु । सहयोग गरिरहेको पनि छु । जहाँसम्म चुनावमा उम्मेदवार बनेको कुरा छ । त्यो सत्य हो । नेपाली कांग्रेसले टिकट दिएपछि प्रदेश सभामा ललितपुर क्षेत्र नं. १ ‘ख’बाट उम्मेदवार बनेको थिएँ ।

मलाई पार्टीकै साथीहरूले अन्तर्घात गरेर हराएका हुन् । त्यसको प्रमाण मसँग सुरक्षित छ । मीनकृष्णले जित्यो भने हाम्रो राजनीतिक सकिन्छ भनेर कांग्रेसका पुराना र वरिष्ठ नेताहरूले नै मलाई हराएका हुन् । जितको भए म आज प्रदेश सभामा हुने थिएँ । खेलकुदको विकासका लागि धेरै काम गरिसकेको हुने थिएँ ।

त्यसो भए करातेभित्रको विवाद कसरी मिलाउनु भयो ?

करातेमा मेरो रगत पसिना बगेको छ । अब यो करातेको बिबाद मिलाउन पर्छ भनेर म लागे । लगातर ४–५ दिन विवाद समाधान समिति संयोजक राखेपका उपाध्यक्ष पितम्बर तिमिल्सिनासँग बैठक गरेँ । अनि बिबाद मिलाउने कुरा भयो ।

करातेको पुराना खेलाडी हाल राखेप शम्भु अचार्यको अध्यक्षमा एउटा निर्वाचन कमिटी बनाउने खेलकुद मन्त्रालयमा सहमति भयो । त्यो कमिटीमा दावा गुरुङ सहध्यक्ष, पुरेन्द्र बिक्रम लाखे उपाध्यक्ष बनाएर लिखित सहमतिमा निर्वाचन कमिटी बन्यो । निर्वाचन कमिटीको अध्यक्षतामा चुनाव लड्ने लिखित सहमति भयो । चुनाव गराउन ३ महिनाको समय दिएको थियो ।

तीन महिना त नाघिसक्यो । कराते महासंघको निर्वाचन कहिले हुन्छ त ?

हो निर्वाचन गर्ने भनिएको ३ महिनाको समय पनि नाघिसक्यो । चुनाव गराउने छाटकाँट अहिलेसम्म छैन । अब अध्यक्ष जहिले पनि भ्याली बाहिर । महिनको एकचोटि काठमाडौं आउनु हुन्छ । त्योपनि खेलकुदमा भत्ता बुझ्न मात्रै । अनि फेरि जानु हुन्छ । अहिले त उहीँ दावा गुरुङलाई कार्यबाहक दिएर जानु भएको छ । अब भन्नुस् त यसरी कराते खेल चल्छ ?

साग गेम आउँदै छ । यस्तो तरिकाले त तयारी कसरी चल्छ कराते त ?

त्यही त । मपनि चिन्तित छु । साग गेम नेपालमा हुन लागेको छ । जम्मा ४ महिना बाँकी छ । कराते खेलाडीहरूको बन्द प्रशिक्षण शुरू भइरहेको छ । खेलाडीहरूलाई ट्रेनिङ गर्न कुनैपनि सुविधा छैन । खेलाडीलाई एउटा म्याटको व्यवस्था छैन । खेलकुद परिषद् र कराते महासंघलाई खेलाडीको केही मतलब छैन । अनि यसरी खेलाडीहरूको कसरी मनोबल बढ्छ ? अनि यसरी कसरी साग गेममा मेडल ल्याउने ?

अनि तपाईं आफै कराते महांसघ अध्यक्ष लड्ने तयारी गर्नु भएको होइन र ?

अब हेर्नुस् कराते महांसघमा अध्यक्ष बन्ने रहर मेरो होइन । मैले अगाडि पनि भनको छु । मेरो लक्ष्य भनेकै राजनीतिमा होमिने हो । अहिले पार्टी कमजोर छ । कम्युनिस्टहरूलाई दुईतिहाईको दम्भ छ । त्यस कारण मेरो पहिलो लक्ष्य भनेको राजनीति नै हो । अहिले मलाई कराते खत्म भयो भन्ने लागेको छ ।

करातेको पहिचान नै मेट्न लागिएको छ । यदि करातेको पहिलेको जस्तो पहिचान गर्ने हो र करातेको बिगतको जस्तो इतिहाँस रच्ने हो भने तपाईले करातेको नेतृत्व गर्नु पर्‍यो भनेर अधिकांश सिनियर गुरुहरूले आग्रह गर्नु भयो । त्यसपछि ठीकै छ भनेर मैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।

म अध्यक्षमा उम्मेदवारी दिन्छु भनेपछि खेलकुद परिषद् र अहिले करातेको ठेक्का लिनेहरूको टाउको दिखाई भैहाल्यो नि । त्यसपछि कराते महासंघको चुनाव नगराउने खेल शुरू भएको छ ।

म अध्यक्षमा उठे भने अहिलेको करातेका ठेकेदारहरूलाई हराउने ताकत राख्छु । म सजिलै महासंघमा जित्छु । मलाई यिनीहरूले जस्तो करातेको नाम बेचेर कमाउनु पनि छैन । मैले कराते लागि के–के गर्न सक्छु भन्ने कुरा मैले प्रमाणित गरिसकेको छु । राष्ट्रिय खेलकुद परिषदले गर्न नसकेको कराते गेम मैले गरेको छु । कराते महासंघले गर्ने कुरै भएन ।

कराते महासंघमा मानव तस्करी निकै मौलायो भन्ने व्यापक हल्ला छ नि कुरा के हो ?

यो सत्य कुरा हो अहिले कराते महासंघमा मानव तस्कर मौलाएकै हो । भरखरैको ताजा कुरा हो ३ महिना अगाडि अस्ट्रेलियामा अस्ट्रेलियन ओपन कराते च्याम्पियनसीप थियो । त्यहाँ कराते दुई टीम गयो । एउटा सक्कली टीम र अर्को नक्कली टीमका खेलाडीहरू गए । ती नक्कली खेलाडीहरू अहिले अस्ट्रेलियामा काम गरेर बस्न थालीसकेका छन् । अब तपाईं भन्नुस् ती नक्कली खेलाडीहरू कसरी अस्ट्रेलिया पुगे ?

अनि कराते महासंघको मिलोमतो नभए यो के हो त ? यो त एउटा उदाहरण मात्र हो । यस्ता नक्कली खेलाडी जापानमा पनि थुप्रै गएका छन् । युरोपमा त कति छन् कति । कोही त नक्कली खेलाडी पठाएर अख्तियारमा मुद्धा धाइरहेका छन् । कोही कारबाहीको दायरामा परेका छन् । नक्कली खेलाडी लिएर उतै छोडेर आउनेहरू त भिसा नै निषेधमा परेका छन् ।

अनि करातेमा धामधम पैसा कुम्याएर नक्कली खेलाडीहरूलाई ब्ल्याकबेल्ट बेच्ने गरेको पनि छन् नि हो ?

यो कुरा पनि सत्य हो । नेपालमा अफिसियल कराते ४ बिधाका छन् । एउटा सितोरियो, एउटा वादोरियो एउटा शोतोकान र एउटा गोजुरियो, अनि म चाई सितोरियो कराते खेलाडी हुँ । नेपालमा सबैभन्दा धेरै खेलाडी भएको खेल भनेकै सितोरियो नै हो ।

अधिकांश स्कुल र कलेजहरूमा सितोरियो कराते नै छन् । नेपालभरिको सितोरियो कराते खेलाडीहरूको हिसाब गर्ने हो भने लाखौ छन् । खेलकुद परिषदमा जागिर भएका स्थाई कोचहरू सितोरियो कै छन् । त्यसपछि तेक्वान्दोका छन् । अझ भोलेन्टर कोच त हजारौ छन् । अब रह्यो नक्कली ब्ल्याकबेल्टको कुरा । हाम्रै ललितपुरको भाई जो अहिलेसम्म कराते खेलेको छन् ।

उसंग हाम्रै सितोरियो करातेको ब्ल्याकबेल्ट सर्टिफिकेट छ । त्यो कहाँबाट आयो ? अनि सातै प्रदेशमा वर्षको १ चोटि ब्ल्याकबेल्ट ग्रेडिङ हुन्छ । अनि ब्ल्याकबेल्ट ग्रेडिङ गर्ने खेलाडीहरू कम्तिमा वर्षको १ हजार हुन्छ, प्रतिव्यक्ति ग्रेडिङ बापत ४ हजार हुन्छ अनि १ हजारको दरले ४ करोड हुन्छ । त्यो पैसा कहाँ गयो ? सितोरियो कराते संघको नाममा एउटा बैंक खाता छैन । यसरी ब्रम्हलुट गरिरेका छन् ।

यो आर्थिक घोटाला नभए के हो त ? यो कुरा खेलकुदको सर्वोच्च निकाय खेलकुद परिषद् पनि मौन छ ? यस्ता भ्रष्ट अध्यक्षलाई किन खेलकुदले कानूनी दायरामा ल्याउँदैन ? होइन यस्तो पनि हुन्छ ? एउटै व्यक्ति २०–२५ वर्षसम्म उहीँ एउटै व्यक्ति अध्यक्ष ? न त्यो अध्यक्षसंग क्षमता छ । न खेलाडीहरूले पत्याएका छन् । न भिजन छ । अनि चाकडीकै भरमा आजीवन अध्यक्ष भइ राख्ने ? अचम्म छ ।

यदि सबै गुरुहरूले तपाईंले अर्को कराते महासंघ बनाउन आग्रह गरे भने के गर्नु हुन्छ ?

त्यो पछिको कुरा हो । मैले भने नि म कराते महासंघको अध्यक्ष बन्छुभन्दा यिनीहरूले कहिले पनि चुनाव नगर्ने तयारी गरेका छन् । किनकी चुनाव ग¥यो कि यिनीहरूको पराजय निश्चित छ । मैले चुनाव जित्ने बितिक्कै यिनीहरूको मानव तस्करी र कमाउ धन्दा बन्द हुन्छ ।

यदि तपाईं कराते महसंघ अध्यक्ष बन्नु भयो भने तपाईंसंग भिजन के छ ?

मसंग भिजन र मिसनका धेरै योजना छन् । अध्यक्ष भए भने मेरो पहिलो मिशन भनेकै ४ महिनापछि नेपालमा साग गेम हुन लागेको छ । करातेमा नेपालले १४ वटा सस्वर्ण पदक ल्याएको छ । त्यही इतिहाँस पुनः दोहोर्‍याउन चाहन्छु ।

अहिले त कराते खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणमा पठाउन ढिला भैइ सक्यो किनकी करातेमा नयाँ नयाँ नियम आई सक्यो । करातेको रुल्स पनि धेरै चेन्ज भैइसक्यो । अहिलेका खेलाडीहरू उहीँ पुरानै नियम र पुरानै टेक्निकमा छन् ।

मेडल ल्याउनको लागि नयाँ टेक्निक र नयाँ नियम खेलाडीहरूको सिक्न जरुरी छ । त्यस्को लागि कि विदेशका अनुभवी कोच ल्याएर प्रशिक्षण गराउन पर्‍यो कि विदेश पठाउन पर्‍यो ।

यहाँ त करातेको फाईनल सेलेक्सन नै भएको छैन । अनि यी करातेका ठेकेदारहरूले केही गरेर खान्छ ? ल सुन्नुस अर्को कुरा पहिले इन्डियाको खेलाडी नेपालमा आएर ब्ल्याकबेट लिन आउँथे । नेपालको खेलाडीसंग खेल्न डराउँथे ।

इन्डियाका खेलाडी १० जना विश्व कराते महासंघ रेफ्री भैईसक्यो एसियन रेफ्री त कति कति गिन्ती नै छैन, अनि हाम्रो नेपालमा जम्मा १ जना बिश्व कराते महासंघ रेफ्री छ, त्यो पनि महासंघको पदाधिकारीको शिकार भएर रिन्यु फेल भैइ सक्यो, नेपालमा एसियन कराते महासंघ रेफ्री २५ जना छन् त्यो पनि कराते महासंघ को गैर्जिम्मेवारीले गर्दा आधा भन्दा बढिको रिन्यु फेल भैइ सक्यो ।

रेफीहरूको लाईसेन्स रिन्यु गर्ने कराते महासंघको जिम्मेवारी होइन ? यिनीहरूलाई चिन्ता छ त्यो रेफ्रीहरूको ? किन भने यिनीहरू करातेको विकाश गर्न आएकै होइन । यिनीहरू त कराते विनाश गर्न आएका हुन् । मैले करातेको नेतृत्व गर्न पाए भने मेरो कार्यकालसम्म कम्तिमा ५ जना ‘ध्पा’ १०० जना ‘ब्पा’ रेफ्री उत्पादन गर्छु ।

त्यति मात्र होइन एसियन गेममा गोल्ड मेडल ल्याउने र ओलम्पिक गेम खेल्ने खेलाडी उत्पादन गर्छु । त्यो क्षमता मीनकृष्णसंग छ । यति गर्न सकेन भने म यिनीहरू जस्तो निकम्मा भएर बस्दिन करातेमा फेरि फर्केर आउँदिन यो मेरो तपाईं बचन भयो ।

तपाईं त खेलकुदको सर्वोच्च निकाए राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष पनि रहि सक्नु भएको व्यक्ति अनि त्यो बेलामा खेलकुदमा उपलब्धि के गर्नुभयो ?

हेर्नुस् म खेलकुद कोषाध्यक्ष जम्मा ६ महिना भए । त्योभन्दा पहिले म सदस्य मात्र थिए । मेरो कार्य क्षमता देखेर नै खेलकुद मन्त्री आफैले बनाएको कोषाध्यक्षलाई हटाएर मलाई कोषाध्यक्ष बनाएको हो । के मेरो कार्यक्षमता नभएको भए आफ्नै पार्टीको कोषाध्यक्ष बर्खास्त गरेर मलाई कोषाध्यक्ष बनाउँथे ? बनाउँदैन थिए ।

Published : Thursday, 2019 July 18, 2:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया