बिना मगरका ‘अरिँगाल’हरूलाई सुध्रिन राणाको धम्की, आवश्यक पर्‍यो भने प्रतिकार गर्ने

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताको सांघातिक आक्रमणमा परी घाइते भएपछि कञ्चनपुर कांग्रेसका नेताहरूलाई भेट गरी स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

नेपाल तरुण दलका पूर्वअध्यक्ष समेत रहेका राणाले आइतबार काठमाडौंको महाराजगञ्ज बाँसबारीस्थित न्युरो अस्पतालमा पुगेर उपचार गराइरहेका घाइतेहरूको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।

नेकपाका कार्यकर्ताको आक्रमणबाट असार १० गते कञ्चनपुर जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायसहितका नेता तथा कार्यकर्ता गम्भीर घाइते भएका थिए ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी एवम् खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलाई शान्तिपूर्ण रुपमा कालो झण्डा देखाउने क्रममा प्रहरीको संरक्षणमा नेकपाका कार्यकर्ताले नेपाली कांग्रेस कञ्चनपुरका नेता तथा कार्यकर्ताहरूलाई टाउको फुट्ने गरेर आक्रमण भएका थिए ।

क्षेत्रीय सभापति उपाध्यायसहित दुई जनाको काठमाडौंको महाराजगञ्ज बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरूको स्वास्थ्य अवस्थाको जानकारी लिएपछि नेपाली कांग्रेसका युवा नेता राणाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूको सहि ठाउँमा राख्न नेताहरूलाई चेतावनी दिएका छन् । राणाले नेपाली कांग्रेसको संयमतालाई कमजोरीका रुपमा नहेर्न चेतावनी दिएका छन् ।

घटनाका दोषी नेकपाका कार्यकर्तालाई कारबाहीको माग गरेका नेता राणाले आवश्यक पर्‍यो भने नेपाली कांग्रेसका तरुण, युवा र विद्यार्थी प्रतिकारका लागि सडकमा उत्रन बाध्य हुने धम्की दिएका छन् ।

‘नेकपाले आफ्ना अराजक कार्यकर्तालाई ठाउँमा राख्नुपर्छ’, उनले भने, ‘शान्तिपूर्ण विरोध कार्यक्रममा सुरक्षाकर्मीको आडमा सांघातिक आक्रमणको कार्य आगामी दिनमा दोहोरियो भने नेपाली कांग्रेस चुप लागेर बस्ने छैन ।’

‘सत्ताको उन्मादमा विपक्षीमाथि प्रहरी प्रशासनको आडमा आक्रमण गर्नेहरूलाई कारवाही होस्’, नेता राणाले भनेका छन्, ‘घाइते साथीहरूको स्वास्थ्यलाभको कामना गर्दछु ।’

यसअघि घाइतेहरूलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणसहितका नेताहरूले भेट गरी स्वास्थ्य अवस्थाको जानकारी लिइसकेका छन् ।

Published : Sunday, 2019 June 30, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया