बाडेगाउँ आश्रममा सुरक्षाकर्मी खटाउन खतिवडाको आग्रह, मुख्य सचिव र सचिव सकारात्मक

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ललितपुर जिल्लाको बाडेगाउँस्थित स्व.कृष्णप्रसाद भट्टराईको नाममा रहेको आश्रममा सुरक्षाकर्मी खटाएर सुरक्षा प्रदान गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।

युवा नेता खतिवडाले आइतबार नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी र गृहसचिव प्रेमकुमार राईसँग अलग–अलग भेट गरी बाडेगाउँको आश्रममा सुरक्षाकर्मी खटाएर सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेका हुन् । नेता खतिवडाको आग्रहलाई सरकारका जिम्मेवार निकायबाट सकारात्मक रुपमा लिएका छन् ।

‘राज्यको लगानी रहेको बाडेगाउँको आश्रमको सुरक्षा गर्ने दायित्व पनि नेपाल सरकारको हो’, उनले भने, ‘मुख्य सचिव र गृहसचिवलाई भेटेर यसबारेमा जानकारी गराएको छु । उहाँहरूले दुई हप्ताभित्र यसबारेमा निर्णय लिने आश्वासन दिनुभएको छ ।’

सरकारले एक महिना अगाडि बाडेगाउँमा रहेको स्व.कृष्णप्रसाद भट्टराईको नाममा रहेको आश्रमबाट सुरक्षाकर्मी हटाउने निर्णय गरेको थियो । सरकारले आश्रमको सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी फिर्ता बोलाएपछि नेपाली कांग्रेसका नेताहरूले असन्तुष्टि जनाउँदै आएका थिए ।

Published : Sunday, 2019 June 30, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया