कांग्रेसकै कार्यक्रमलाई बजेटले पछ्याएको छ, नयाँ केही छैनः ईन्द्र बानियाँ

काठमाडौं । नेपाली कांग्रेस प्रदेश ३ को संसदीय दलका नेता एवम् मकवानपुर जिल्लाका सभापति ईन्द्र बानियाँले सत्तामा रहेका कम्युनिस्टहरूले काम गर्न नसकेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेस नेता बानियाँले प्रदेश ३ को कम्युनिस्ट सरकारले कुनै पनि काम राम्रोसँग गर्न नसकेको बताए ।

‘प्रदेश ३ मा पनि नेकपाको सरकार छ । उहाँहरूले केही काम गर्न सक्नु भएको छैन’, उनले भने, ‘डेढ वर्ष भयो प्रदेशको नाम र राजधानीको टुंगो लगाउन सक्नु भएको छैन ।’

उनले भने, ‘अस्थायी राजधानी तत्कालीन सभापति शेरबहादुर देउवाले हेटौँडालाई तोकिदिनुभएको थियो । हिम्मत छ भनेर हेटौँडाबाट राजधानी सारेर देखाउन चुनौती दिन्छु ।’

कांग्रेस नेता बानियाँले कम्युनिस्टहरूसँग काम गर्ने कुनै पनि हिम्मत नरहेको बताए ।

प्रदेश ३ को कम्युनिस्ट सरकार काम चलाउ मात्रै रहेको भन्दै उनले अहिले ल्याइएको बजेटको विरोध गरे ।

‘बजेटको कुनै अर्थ छैन । सबै नेपाली कांग्रेसका कामलाई निरन्तरता दिइएको छ’, उनले भने, ‘उहाँहरूले बजेटमा आफ्ना दलका नेताहरूको नाम राख्नु भएको छ । स्थानको पहिचान समाप्त हुने गरेर नेताका नाम राख्नुभएको छ ।’

सडकहरूको नाम परिवर्तन गरेर नेताको नाममा राखेको भन्दै कांग्रेस नेता बानियाँले विरोध जनाए ।

Published : Tuesday, 2019 June 25, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया