नेकपाका ‘अरिँगाल’ पाल्न सरकारी पैसा दुरुपयोग, कांग्रेसले दियो प्रमाण
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले प्रधानमन्त्री रोजगार कार्यक्रम पार्टीका ‘अरिँगाल’ पाल्ने काम भएको भन्दै विरोध जनाएका छन् ।
संसदको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद रसाइलीले प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा भएको राज्य कोषको दुरुपयोग भएको विषयमा सदनलाई जानकारी गराउन माग गरे ।
‘केवल यो कार्यक्रम पार्टीका ‘अरिँगाल’लाई मात्रै पाल्ने काम भयो’, उनले भने, ‘तसर्थ यो कार्यक्रम कहाँ–कहाँ दुरुपयोग भएको छ सदनलाई जानकारी चाहियो ।’
उनले भनेका छन्, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम प्रारम्भ हुँदा हामीलाई लागेको थियो युवाहरूलाई प्रविधि र सिपसँगै जोड्दै रोजगार समेत सिर्जना गर्छ भन्ने लागेको थियो ।’
‘तर यो कार्यक्रम कार्यान्वयनमा पुग्दै गर्दा युवाहरूलाई पहेँलो ज्याकेट, टोपी र जुत्ता दिएर गाउँमा बाँदर धपाउने, नाली सफा गर्ने र भुस्याहा कुकुरलाई तह लगाउने काम भएको छ’, नेपाली कांग्रेसका सांसद रसाइलीले भनेका छन् ।
‘यो कार्यक्रमको व्यापक दुरुपयोग भएको छ । आफ्ना पार्टीका कार्यकर्तालाई पाल्ने कार्यक्रमका रुपमा रुपान्तरण भएको छ’, उनले भने, ‘यो कार्यक्रमको व्यापक रुपमा दुरुपयोग मात्रै भएको छैन युवाहरूलाई विदेशमा रहेका नेपाली युवाहरूलाई पनि नेपालमा प्रधानमन्त्री रोजगार कार्यक्रम कस्तो दृष्टीकोण, कस्तो भिजन आउँछ भन्ने कुरामा विदेशमा बसेका नेपाली युवाहरूले पनि युसको चासो लिइरहेका छन् ।’
प्रधानमन्त्री रोजगार कार्यक्रम शुरुवाती दिनदेखि नै विवादमा आइरहेका बेला नेपाली कांग्रेसले सदनमा जोडदार रुपमा कुरा उठाएको छ । कांग्रेसले अनियमितताका बारेमा कुरा उठाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र मन्त्रीहरूलाई तनाव बढाइदिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया