ओलीजी काठमाडौं रिसायो भने भष्म गर्न पनि जानेको छः गगन थापा

काठमाडौं । नेपाली युवा नेता एवम् सांसद गगनकुमार थापाले कम्युनिस्ट सरकारले ल्याएको गुठी विधेयक र कानूनले कुनै पनि किसानले एक टुक्रो जग्गा नपाउने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आइतबार काठमाडौंको बसन्तुपरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै युवा नेता थापाले यो विधेयकले नेकपाका महासचिव विष्णु पौडेल जस्ता नक्कली सुकुम्वासीहरूका लागि ल्याइएको बताए ।

उनले दाङ र सिन्धुपाल्चोकमा किसानहरू विरोधमा उत्रिएको प्रशंग कोट्याउँदै गुठी विधेयकले गरिव किसानलाई अहिलेको सरकारले एक टुक्रा जग्गा नदिने बताए ।

किसानहरूलाई जग्गा दिने प्रक्रियाहरू धेरै रहेको भन्दै थापाले गुठी विधेयकले बुटवलका नक्कली सुकुम्वासीलाई बालुवाटारको जग्गा दिए जस्तै रहेको बताए ।

‘यो विधेयकले दाङ, सिन्धुपाल्चोकका सक्कली किसानहरूले एक टुक्रा जग्गा पाउँदैनन् । पाउँछन् भने त्यही बुटवलको नक्कली सुकुम्वासीले बालुवाटारको जग्गा पाएका जस्तैले पाउँछन्’, उनले भने, ‘तपाईहरू नझुक्किनुस् । नक्कली किसान र नक्कली गुठीयारका लागि ल्याइएको विधेयक हो । केही यार, आफ्ना साथी र माफियालाई पोसाउने गरेर यो विधेयक आएको छ ।’

‘प्रधानमन्त्रीका साथीहरू भन्छन् विधेयक आएको छैन । संसदबाट सच्चाउने गरेर यो विधेयक आएको छैन’, उनले भने, ‘यस्तो अवस्थामा कांग्रेसले सदन र सडकबाट खबरदारी गरेका छौँ ।’

उनले गुठी विधेयकको समर्थनमा दाङ, सिन्धुपाल्चोकसहितका जिल्लामा भएका विरोध प्रदर्शनलाई नेपाली कांग्रेसले सम्मान गर्ने बताए । ‘काठमाडौंभन्दा बाहिर र काठमाडौंभित्र गुठीको फरक–फरक समस्या छ । किसानको समस्या समाधान गर्नुपर्छ । यो सरकारले बनाएको कानूनले दाङ र सिन्धुपाल्चोकका साथीहरूको समस्याको समाधान गर्दैन ।’

‘कोही किसान नझुक्किनुस् तपाईहरूका लागि यो गुठी विधेयक आएको होइन । आफ्ना लागि हो । यो किसानको पक्षमा आएको होइन’, उनले भने, ‘किसानलाई अधिकार दिने पक्षमा नेपाली कांग्रेस छ । यो सरकारले ती किसानहरूको माग सम्बोधन गर्दैन ।’

युरोप भ्रमणबाट आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसतर्फ संकेत गर्दै कसै–कसैले चान्सा मार्न खोजेको भन्दै आफू आएकाले अब चान्स मार्न नदिने प्रतिक्रिया दिएका थिए ।

ओलीको सो भनाइको प्रतिवाद गर्दै नेपाली कांग्रेसका युवा नेता थापाले भने, ‘प्रधानमन्त्रीजीले अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिदै गर्दा कसै–कसैले चान्सा मार्न खाजेका थिए । म आइसके भन्नुभए छ । ओलीजी तपाईले जस्तो चान्स कांग्रेसले मार्नु छैन । प्रधानमन्त्रीजी तपाईले मधेसमा आगो बल्दा गर्दा हामीले गएर पानी हालेका हौँ । तपाईहरू ठाउँठाउँमा गएर राज्य बाँडेर आगो लगाउँदा हामीले नै पानी हालेका थियौँ । यो कुरा नभुल्नुस् ।’

नेपाली कांग्रेसका युवा नेता थापाले गुठी विधेयक ल्याएर ओलीले नै काठमाडौंसहित देशभरि आगो लगाएको र त्यसलाई कांग्रेसले पानी हालेर साम्य पार्ने प्रयासमा रहेको बताए ।

‘यो विधेयक फिर्ता लिनुस् । स्थन गरेर हुँदैन । अनि वार्ता गरौँ । सरोकारवालासँग बसेर विधेयक बनाऔँ’, उनले भने, ‘तपाईको पार्टीका एक जना सांसदले गुठी विधेयकको विरोध गर्दा सामन्तवादी भन्नु भयो । अर्कोले गुठी विधेयकको विरोध गर्नेहरू भाडामा आएका हुन् भन्नुभयो । अर्का सांसदले यिनीहरू त राजावादी हुन् भन्नुभयो । प्रधानमन्त्रीजी धेरै नजिस्काउनुस् । काठमाडौंका जनता सरकार घिउ खाएर बसेका सरकारी अरिँगाल होइनन् । आफ्नो जीवन आहुती दिन तयार भएर आएका छन् ।’

नेपाली कांग्रेसका युवा नेता थापाले भने, ‘सत्यमोहन जोशीले दिएको सुझाव सुन्नुस् । काठमाडौंले माया गर्न जानेको छ । काठमाडौं रिसायो भने भष्म गर्न पनि जानेको छ । प्रधानमन्त्रीजी तपाईको स्वास्थ्य लाभको कामना गर्छु ।’

थापाले आफूहरू अबसरका लागि सोलुखुम्बुबाट काठमाडौं आए जस्तै ओलीजी पनि झापाबाट काठमाडौं आएको बताए । ‘मेरा बा–आमा सोलुखुम्बुबाट असर खोज्न यहाँ आउनु भएको हो । म यहीँ जन्मिए । मेरा स–साना दुई वटा छोरी यहीँ हुर्काउँदै छु । यहाँको सांस्कृतिक चाढपर्व हुँदा दुबै छोरीलाई लिएर जान्छु । यही हो हाम्रो शान, परिचय र संकृति भनेर सिकाउँछु । म जस्तै तपाई पनि झापाबाट आउनु भएको हो प्रधानमन्त्रीजी । तपाईलाई पनि आफ्नो ठानेको छ काठमाडौंले । तपाईले जे गर्नुभएको छ त्यो ठीक गर्नु भएको छैन ।’
नेपाली कांग्रेसका युवा नेता थापाले चेतावनी दिँदै भने, ‘तपाईले पाउनु भएको दुईतिहाइको बहुमत जे मन लाग्यो त्यही गर्न होइन । संविधानले गुठीको कानून बनाउँदा मूल मर्ममा ठेस नलाग्ने गरेर बनाउन भनेको छ । तपाईलाई बहुमत छ भन्दैमा कसले दियो संविधानविरुद्ध जाने अधिकार ?’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलीले काठमाडौंले मलाई के भनेको छ भनेर सोधिएको प्रश्नको जवाफमा ‘ज्वाइँ त बेइमान रहेछ’ भनेर आफ्नै दलका नेताहरूले सुनाएको प्रशंग कोट्याउँदै कांग्रेस नेता थापाले भने, ‘ओलीजीले गर्नुपर्ने काम गर्नु हुँदैन । नगर्नुपर्ने काम गर्नु हुन्छ ।’

Published : Sunday, 2019 June 16, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया