‘काले’का सहयोगीहरूको खोजी, प्रहरीकै उच्च अधिकारीहरू पीडित

काठमाडौं । महानगरीय अपराध महाशाखा टेकुले ‘काले’ भनिने विष्णु तामाङलाई गोली हानेर पक्राउ गरेको दाबी गरेको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २ का ३३ वर्षीय तामाङ सोमबार काठमाडौं टोखा हाइटमा देखिएका थिए ।

उनको खोजीमा निस्केको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीसँग जम्काभेट भएपछि तामाङले हतियार देखाएका थिए ।

महाशाखाका अनुसार तामाङले थ्री नट थ्री राइफलको गोली जाने ‘होम मेड’ पेस्तोल देखाएका थिए । प्रहरीले तामाङलाई पक्राउ गर्न उनीमाथि गोली चलाएको थियो । दाहिने घुँडामा गोली हानेर प्रहरीले तामाङलाई समातेको थियो ।

वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत तामाङको साथबाट प्रहरीले थ्री नट थ्री राइफलको पाँच थान गोलीसमेत बरामद गरेको छ ।

महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले राजधानीमा हुने लुटपाटका घटनाको तामाङको संलग्नता रहेको बताए । तामाङलाई तीन वर्षदेखि महाशाखाले सर्वा्धिक खोजी गरिरहेको थियो ।

सोमबार गोली प्रहार गरी नियन्त्रणमा लिएसँगै महाशाखाले तामाङसँग जोडिएका केही ठूला लुटपाटका घटना विवरण सार्वजनिक गरेको छ । तामाङ एक्लैको संलग्नतामा ठूला–ठूला लुटपाट भएको अनुसन्धानबाट देखाएको छ ।

२०६६ साल माघ २७ गते कपनमा भएको लुटपाट घटनाबाट तामाङको आपराधिक गतिविधिको पोल खुलेको छ । तामाङले पूर्वएआइजी जयबहादुर चन्दको चपली भद्रकाली र पूर्वडिआइजी विश्वराजसिंह शाहीको बुढानिलकण्ठस्थित घरमा लुटपाट गरेका थिए ।

चन्द र शाहीको घरमा लुटपाट मच्चाउँदा तामाङको नाममा ८ वटा मुद्दा दर्ता भइसकेका थिए । आफ्नै घरमा लुटपाट हुन थालेपछि उच्च अधिकारीले चासोसाथ उनको खोजीमा प्रहरी खटाए ।

तामाङ २०६६ सालमै पक्राउ परेर ६ वर्ष कैद भुक्तान गरी २०७२ असोज ६ गते रिहा भएका थिए ।

जेलबाट छुटेपछि पनि तामाङले लुटपाट गर्न छोडेका थिएनन् । छुटेको एक वर्ष नपुग्दै तामाङले शृंखलाबद्ध रुपमा राजधानीमा लुटपाट मच्चाएका थिए ।

०७३ जेठ ३१ गते नागार्जुन नगरपालिका १ की राज्यवति त्रिपाठी र राजेन्द्र अधिकारीको कोठाको ढोका फोडेर ४ लाख ५५ हजार बराबरको धनमाल चोरी गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

०७३ असार १ गते नागार्जुन–२ का सुनिल मानन्धरको घरबाट ६ लाख १५ हजार बराबरको धनमाल चोरी भएको थियो । ७ गते स्वयम्भुका हर्कबहादुर कार्कीको घरबाट २० लाख, ९ गते ललितपुर नख्खिपोटकी गीता गुरुङको घरबाट ४४ लाख ५ हजार, १४ गते ललितपुर–५ कैलाशबस्तीस्थित केशवबहादुर विष्टको घरबाट १८ लाख १५ हजार, २८ गते नागार्जुन–१ का भोजराज आचार्यको घरबाट ४ लाख ८४ हजार र चेतकुमारी सापकोटाको घरबाट ५ लाख ६५ हजार रुपियाँ बराबरको धनमाल चोरी भएको थियो ।

सबै घटनाको अनुसन्धानमा महाशाखाले तामाङको संलग्नता किटान गरी खोजी थालेको थियो ।

तामाङको सम्पर्क सूत्र र धनमाल बेच्ने वा लुकाउने स्थान अहिलेसम्म पत्ता लागेको छैन ।

काठमाडौं बसेरै लुटपाट मच्चाइरहे पनि उनी बस्ने स्थान प्रहरीले पत्ता लगाउन सकेको छैन ।

प्रहरीको भनाइ अनुसार लुटपाट योजना बनाउँदा तामाङ पैदल हिँड्थे । पैदल यात्राबाट उनी धनाढ्य परिवारका घर पत्ता लगाउँथे र कोही नभएको मौका छोपेर लुटपाट गर्ने गरेको प्रहरी भनाइ छ ।

धनाढ्य परिवारदेखि प्रहरीका उच्च अधिकारीको घरमा लुटपाट मच्चाउने तामाङको पृष्ठभूमि पत्ता लागेको छैन ।

Published : Monday, 2019 May 20, 4:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया