नर्सहरूको माग पूरा गर्न कम्युनिस्ट सरकारलाई डा.केसीको सुझाव

काठमाडौं । अनसनरत दुई नर्सको माग पूरा गर्न डा. गोविन्द केसीले कम्युनिस्ट सरकारको ध्यानाकर्षण गराएका छन् ।

डा.केसीले आइतबार विज्ञप्ति जारी गरी स्वास्थ्य सेवा प्रवाहमा अद्वितीय भूमिका निर्वाह गर्ने नर्सहरूको मागको सुनुवाई गर्नुपर्ने बताए ।

उनले नर्सहरू चर्को श्रम शोषणमा पर्नु, पेशागत सुरक्षा नहुनु, पेशागत माग राख्दा अपमानित हुनु, आफ्ना जायज माग सुनुवाई नभएपछि अनसन बस्दा समेत सम्बन्धित निकायले चासो नदिनु लाजमर्दो कुरा भएको बताएका छन् ।

विभिन्न माग राख्दै मानव अंग प्रत्यारोपण केन्द्रकी नर्स दिक्की शेर्पा र नर्सिङ संघकी सदस्य जिता बराल अनसनमा बसेको १० दिन भइसकेको छ ।

उनीहरूको मागको विषयमा अहिले स्वास्थ्यम न्त्रालयमा नर्सिङ संघको अध्यक्ष तारा पोखरेल लगायतको टिमसँग वार्ता भइरहेको छ ।

यसअघि पटक पटक बसेको वार्ता सफल भएको थिएन । आन्दोलनका क्रममा नर्सहरु तीनपटक प्रहरी हिरासत पुगेका थिए ।

‘अनसनरत नर्सहरूको बिग्रदो स्वास्थ्य अवस्था तथा उहाँहरूको मागप्रति देखाएको चरम असंवेदनशीलप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नर्सहरू चर्को श्रम शोषणमा पर्नु, माग पूरा गर्न सुनुवाई नहुनु र उनीहरूप्रति राज्य र सम्बन्धित निकाय संवेदित नहुनु समाजकै लागि लाजमर्दो कुरा हो ।’

Published : Sunday, 2019 May 19, 4:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया