मुख्यमन्त्री शंकर पोखरेलको कार्यक्रम नजिकै बम पड्कियो

लिवाङ । प्रदेश ५ का कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमलाई लक्षित गरेर रोल्पा जिल्लामा बम बिस्फोट भएको छ ।

सोमबार कार्यक्रममा सहभागी हुन रोल्पाको लिवाङ आएका पोखरेलको कार्यक्रम नजिकै बम बिस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

तर, मुख्यमन्त्री पोखरेलको सचिवालयले आफूहरूको कार्यक्रमलाई लक्षित गरेर कुनै पनि बम बिस्फोट नभएको दाबी गरेको छ । प्रदेश पाँचको प्रहरी मुख्यालय तुलसीपुर दाङले पनि रोल्पामा बम बिस्फोट भएको पुष्टि गरेको छ । बम बिस्फोट कसले किन गरेको हो खुल्न नसकेको जनाएको छ ।

जनप्रतिनिधिसँग विकासका बारेमा छलफल गर्न मुख्यमन्त्री पोखरेल रोल्पा आएका हुन् । पोखरेल जिल्लामा आएपछि रोल्पा प्रहरीले उच्च सर्तकता अपनाएकै बेला बम बिस्फोट भएको छ ।

कार्यक्रम स्थल लिबाङ बजारभन्दा करीव डेढ किलोमिटर उत्तरतर्फ रहेको तितरी जंगलमा अज्ञात समूहले सोमबार अपरान्ह १ः२० बजे बाल्टिन बम बिस्फोट गराएको रोल्पा प्रहरीले जनाएको छ ।

बम बिस्फोटबाट कुनै प्रकारको क्षति भएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बम बिस्फोट राज्यबाट प्रतिबन्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई गाली गरेका थिए । संघीय सरकार र प्रदेश सरकारहरूविरुद्ध विदेशीहरूको उक्साहटमा लागेर गलत रिपोर्ट तयार पारेर सञ्चारमाध्यमहरूमा सार्वजनिक गर्ने गरेको पोखरेलले आरोप लगाए ।

Published : Monday, 2019 April 29, 8:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया