कांग्रेसको जागरण अभियानको अनुगमन हुने, तोकियो जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले वैशाख २५ गतेदेखि शुरु हुन लागेको जागरण अभियानलाई मर्यादित र अनुशासित बनाउन निर्देशन दिएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबार बसेको समितिको बैठकले जागर अभियानलाई अनुगमन समेत गर्ने निर्णय गरेको छ ।

‘यही वैशाख २५ गतेदेखि शुरु हुने नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानलाई बढीभन्दा बढी मर्यादित, अनुशासित एवं व्यवस्थित गर्नका लागि पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हित विपरित काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी गराउन ७७ वटै जिल्लामा नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघलाई स्थलगत अनुगमन तथा निरीक्षण गरिदिन अनुरोध गर्ने निर्णय गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसको जागर अभियानलाई व्यवस्थित बनाउन अनुशासन समितिले गरेको यो निर्णयले देशैभरिका नेता तथा कार्यकर्तालाई उर्जा थपिने संयोजक भीष्मराज आङदम्बेले जानकारी दिए ।

कांग्रेसका पूर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएपछि नेपाली कांग्रेसले वैशाख ११ गतेदेखि शुरु गर्ने भनिएको जागर अभियान वैशाख २५ गतेसम्मका लागि स्थगित गरेको थियो ।

कम्युनिस्ट सरकारले मुलुकमा अधिनायकवाद ल्याउन खोजेको भन्दै विरोध भइरहेका बेला नेपाली कांग्रेसले जागरण अभियान चलाउन थालेको छ ।

जागरण अभियानका लागि ७७ जिल्लामा नेपाली कांग्रेसले प्रतिनिधिहरू समेत खटाइ सकेको छ ।

जागरण अभियानको कांग्रेस निकटका कानून व्यवासयीहरूमार्फत अनुगमन हुने भएपछि नेताहरूलाई नैतिक दवाव परेको छ । कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन जिल्ला नेतृत्वले विशेष पहल गर्नेछ ।

कतिपय जिल्लाहरू गुटको राजनीतिका कारण समस्या आउने हो कि भन्ने आशंका समेत रहेको नेताहरूले बताउने गरेका छन् ।

Published : Sunday, 2019 April 28, 3:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया