कांग्रेसको पार्टी कार्यालय बनाउन भूमिका खेल्ने ताम्राकारको अन्त्यष्टि, देउवाका आँखा रसाए
काठमाडौं । पूर्व मन्त्री, नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष एवं अग्रज नेता रामकृष्ण ताम्राकारको बुधबार हिन्दू परम्पराअनुसार अन्तिम दाहासंस्कार गरिएको छ ।
पशुतपति आर्यघाटमा कांग्रेस नेता स्वर्गीय ताम्राकारको अन्त्यष्टि गरिएको हो । अन्त्यष्टि गर्नुभन्दा अगाडि ताम्राकारको शवलाई अन्तिम श्रद्धाञ्जलि दिन नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।
ताम्राकारको शवमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चारतारे झण्डा ओढाएर श्रद्धाञ्जलि दिनुका साथै स्मरण गरेका थिए । कांग्रेसका केन्द्रीय नेताका साथै शुभेच्छुकहरूले पनि ताम्राकारलाई अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।
ताम्राकारको शवमा अन्तिम श्रद्धाञ्जलि दिने क्रममा सभापति देउवाका आँखा रसाएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू पनि भावुक बनेका थिए ।
सानेपास्थित कांग्रेसको पार्टी कार्यालय बनाउने समितिमा ताम्राकार कोषाध्यक्ष थिए । पार्टी कार्यालय बनाउन ताम्राकारको पनि विशेष भूमिका रहेको छ ।

ताम्राकारको मंगलबार वैशाख १० गते उपचारको क्रममा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो । उहाँको असामयिक निधनले हामीलाई स्तब्ध तुल्याएको छ ।
विस २०४८ र २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित भएका स्व.ताम्राकारले स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्ति लगायत विभिन्न मन्त्रालयको मन्त्री पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए ।
महामानव श्रद्धेय नेता वीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा प्रवेश गरेका स्व.ताम्राकारले नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा सदैव अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
विद्यार्थी जीवन देखिनै सक्रिय राजनीतिमा रहेका नेता ताम्राकारले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाको संघर्षमा क्रियाशील रहँदा पटक–पटक जेलनेल र यातना सहेका थिए ।
उनी नेपाली कांग्रेसको संगठन विस्तार, सुदृढीकरण तथा पार्टीलाई गतिशील बनाउन सदैव क्रियाशील रहेका थिए ।
नेता ताम्राकारले राजनीतिक जीवन बाहेक बुद्ध दर्शनका साथै विभिन्न स्थानमा गुम्बा, मठ, मन्दिर निर्माण तथा समाजसेवाको कार्यहरुमा समेत अतुलनीय योगदान पुराएका थिए ।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अटल आस्था राख्नु हुने स्व. ताम्राकार नेपाली राजनीतिमा शालिन, भद्र र समाजवादी नेताका रुपमा परिचित हुनुहुन्थ्यो’, नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले भनेका छन्, ‘उहाँ जस्तो एक कुशल नेता एवं समाजसेवीलाई गुमाउनु पर्दा राष्ट्र र नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ ।’

‘नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्व.ताम्राकारले र्पुयाउनु भएको योगदानको स्मरण गर्दै उहाँको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ’, खाँणद्वारा जारी शोक विज्ञप्तिमा भनिएको छ, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति नेपाली कांग्रेस संसदीय दल हार्दिक समवेदना प्रकट गर्दछ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत