शोकमा डुब्यो कांग्रेस, रोक्यो सबै कार्यक्रम (विज्ञप्ति)

काठमाडौं । नेपाली कांग्रेसले वैशाख ११ गतेबाट शुरु गर्ने तयारी गरेको ‘हिमाल, पहाड, तराई–मधेस, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ स्थगित गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार काठमाडौंमा बसेको आकस्मिक बैठकले वैशाख ११ गते शुरु गर्न लागेको अभियानलाई वैशाख २५ गतेसम्मका लागि सारिएको छ ।

नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको असामयिक निधन भएपछि वैशाख ११ गते देशभर एकसाथ प्रारम्भ गर्ने भनिएको ‘हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को प्रथम चरणअन्तर्गतको एक महिने कार्यक्रमको मिति परिवर्तन गरेको हो ।

कांग्रेसले त्यो कार्यक्रम २०७६ वैशाख २५ गतेदेखि प्रारम्भ गरी जेठ २५ गतेसम्म देशभरका सबै जिल्लाहरूमा पूर्ववत रुपमा सञ्चालन गर्ने बताएको छ ।

कांग्रेसले नेता ताम्राकारको निधनमा शोक मनाउने निर्णय गरेको छ ।

000

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैशाख १०, २०७६ मा बसेको आकस्मिक बैठकद्वारा नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष तथा पूर्व मन्त्री
श्री रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव र निर्णय

(१) नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष तथा नेपाल सरकारको वाणिज्य; स्वास्थ्य; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्री पदको जिम्मेवारी सम्हाल्नु भएका श्री रामकृष्ण ताम्राकारको आज २०७६ वैशाख १० गते दिउँसो ३ः४५ बजे ललितपुर स्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको छ । नेता ताम्राकारको असामयिक तथा दुःखद निधनले हामी स्तब्ध भएका छौँ ।

श्रद्धेय नेता बी.पी. कोइरालाको प्रेरणाबाट विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील रही पञ्चायती कालरात्रीमा समेत पटक–पटक जेलनेल र यातना सहनु भएका दिवंगत नेता ताम्राकार आफ्नो आस्था र विश्वासका लागि जुनसुकै वलिदान गर्न सदा तत्पर रहनु भयो । नेता ताम्राकार श्रद्धेय नेताहरु बी.पी. कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवन पर्यन्त क्रियाशील रहनु भयो । नेपाली कांग्रेसको संगठन सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण योगदान पु¥याउनु भएका नेता ताम्राकार नेपाली कांग्रेसको एकीकरणमा विशिष्ट योगदान रहेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, रुपन्देही जिल्ला कार्यालय लगायत पार्टीको भौतिक संरचना निर्माणमा उहाँको नेतृत्वदायी भूमिका रहेको थियो । राजनीतिक जीवन बाहेक पनि नेता ताम्राकारले शान्ति, वुद्ध दर्शन, विभिन्न स्थानमा गुम्बा, मठ, मन्दिर निर्माण कार्यमा पनि विशिष्ट योगदान पु¥याउनु भयो । राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अटल आस्था र समर्पणभाव राख्नु हुने दिवंगत नेता ताम्राकारको निधनले नेपाली कांग्रेस र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगकेो छ ।

(२) दिवंगत नेता श्री रामकृष्ण ताम्राकारप्रति सम्मान र उहाँको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको यो बैठक २ मिनेट मौन धारण गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गर्दछ ।

(३) नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न भोलि मिति २०७६ वैशाख ११ गते विहान १०ः३० देखि दिउँसो १ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरको प्राङ्गणमा राखिनेछ । त्यसपछि भोलि नै पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार हुनेछ ।

(४) दिवंगत नेता श्री रामकृष्ण ताम्राकारप्रति उच्च सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ—

(क) २०७६ वैशाख ११, १२ र १३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने ।

(ख) २०७६ वैशाख ११ गते बुधबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने ।

(ग) स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने ।

(घ) स्वर्गारोहण १३ औं दिनमा केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

Published : Tuesday, 2019 April 23, 10:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया