२४ घण्टाभित्रै ओलीले भेटे कांग्रेसको तर्फबाट गगनको जवाफ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली नै राजसंस्था ल्याउने अभियानमा सक्रिय भएको आरोप लगाएका छन् ।

मंगलबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले प्रधानमन्त्री ओलीले मुलुकका जल्दाबल्दा समस्याबाट भाग्न कांग्रेसलाई राजसंस्था ल्याउन लागेको भनेर आरोप लगाएको टिप्पणी गरे ।

‘प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू मुलुकको जल्दोबाल्दो समस्याबाट भाग्न यस्ता नानाथरी कुरा गर्नुहुन्छ’, उनले भने, ‘संविधानप्रतिको प्रतिवद्धतामा कांग्रेसको चिन्ता गर्नुपर्दैन प्रधानमन्त्री ओलीजीले ।’

नेपाली कांग्रेसको नेतृत्वमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्ने विषयमा कुनै पनि कसर बाँकी नराखने उनले बताए । तर, प्रधानमन्त्री ओलीकै कारण मुलुकमा राजसंस्था आउने र संघीयता समाप्त हुने अवस्थामा पुगेको उनले बताए ।

‘ओलीजी आफैले राजसंस्था फर्काउँछु भन्ने दलसँग वार्ता गर्ने । अनि कांग्रेसलाई टिप्पणी गर्ने कुन हैसियत राख्नु हुन्छ ?’, कांग्रेसका युवा नेता थापाले भने, ‘एक वर्षको गतिविधिले ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्दै हुनुहुन्छ । एक वर्ष अगाडिलाई फर्किएर हेरे हुन्छ ओलीका हरेक गतिविधि राजसंस्थामा सहयोग मिल्ने किसिमका छन् ।’

प्रधानमन्त्री ओलीले सोमबार कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेका केही नेताहरू राजसंस्था ल्याउन सक्रिय रहेको आरोप लगाएका थिए ।

ओलीको सो आरोपको नेपाली कांग्रेसका युवा नेता थापाले २४ घण्टाभित्रै जवाफ दिएर पार्टीको बचाउ गरेका छन् । उनले प्रधानमन्त्री ओलीमाथि नै अनेक प्रश्न उठाएका छन् ।

नेपाली कांग्रेसभित्रको सबै खालका विवाद र मतभेदलाई अन्त्य गर्दै अगाडि बढ्नुपर्ने उनले बताए । ‘विगतमा कसैले गरेको गल्तीलाई सभापति शेरबहादुर देउवाले दोहोराउनु हुँदैन’, उनले भने, ‘महासमिति बैठकले दिएको निर्देशनलाई कांग्रेसको नेतृत्वले कार्यान्वयन गर्नुपर्छ ।’

Published : Tuesday, 2019 April 23, 10:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया