कांग्रेसले प्रदेश ३ को संसद चल्न नदिने, कम्युनिस्ट सरकारले सहमति तोड्यो
हेटौँडा । नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेशसभाको आगामी बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
प्रदेश सरकारले हिउँदे अधिवेशनभित्र राजधानीको टुंगो लगाउने सहमति चैत १७ गतेको कार्यव्यवस्था परामर्श समितिमा गरेपनि सहमति तोडेकोले प्रदेश ३ कांग्रेसले आगामी बैठक चल्न नदिने तयारी गरेको हो ।
कांग्रेस संसदीय दलका नेता बानियाँले स्थायी राजधानीका बारेमा भएको पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने माग गरे ।
हिउँदे अधिवेशन अन्त्य गर्ने प्रदेश ३ सरकारको निर्णय अनुसार प्रदेश प्रमुख अनुराधा कोइरालाले अधिवेशन अन्त्य गरेपछि बानियाँको यस्तो धारणा बाहिरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिसद्को सिफारिसमा कोइरालाले नेपालको संंविधानको धारा १ सय ८३ को उपधारा २ अनुसार अधिवेशन अन्त्य गरेकी छिन् ।
प्रदेशसभाको हिउँदे अधिवेशन मंगलबार राति १२ बजेबाट अन्त्य हुँदैछ ।
कांग्रेसको दवावमा प्रदेशको स्थायी राजधानीको निर्णय गर्न कार्यविधि तयार गर्ने समिति गठनको सहमति भएको थियो । सोही अनुसार प्रदेशसभामा सभामुख सानुकुमार श्रेष्ठले यसबारे जानकारी गराएका थिए ।
त्यसपछि यसबारे कुनै प्रक्रिया अघि नबढेपछि कांग्रेस सांसदहरूले पटकरूपटक तत्काल समिति बनाउन र प्रक्रिया अघि बढाउन प्रदेश ३ का सभामुखलाई आग्रह गरेका थिए ।
‘सहमतिलाई लत्याई सभामुख, सांसद र सार्वभौम संसदलाई झुक्याएर अधिवेशन अन्त्य गरिएको छ’, कांग्रेस संसदीय दलका नेता बानियाँले भने, ‘सहमति तोडेकाले कांग्रेसले संसद अघि बढाउन दिन सक्दैन ।’
प्रतिपक्ष दलको नेता बानियाँले जनताको माग, संवैधानिक प्रावधानलाई सरकारले लत्याउनु दुर्भाग्यपूर्ण भएको बताए । उनले गल्ती नसच्चिए संसद अघि बढ्न नसक्ने बताएका छन् ।
हिउँदै अधिवेशनमै स्थायी राजधानीको टुंगो प्रक्रिया अनुसार लाग्ने सत्तारुढ दलका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री डोरमणी पौडेलले संसदमा जानकारी गराएपछि अहिले झुक्याएको बानियाँको भनाई छ ।
जनताको हितमा काम नगर्नेले सत्तामा बस्नुको कुनै औचित्य नरहेको समेत उनको भनाई छ । हिउँदे अधिवेशन अन्त्य गरेर मुख्यमन्त्री पौडेल चीन भ्रमण निस्कनु गैरजिम्मेवारपूर्ण कार्य भएको कांग्रेसको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत