कांग्रेसका नेताहरू राजसंस्था ल्याउन हिँडेका छन्ः खड्गप्रसाद ओली
काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाली कांग्रेसका केही नेताहरू राजसंस्था ल्याउन सक्रिय रहेको आरोप लगाएका छन् ।
कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसका नेताहरूलाई राजसंस्थाको पछाडि नलाग्न सुझाव दिए । उनले कांग्रेस गलत बाटोमा नहिँड्न आग्रह गरे ।
कांग्रेसलाई कम्युनिस्टहरूले लतारेर परिवर्तनको आन्दोलनमा हिँडाएको ओलीले दाबी गरे । कांग्रेसप्रति आक्रामक देखिएका ओलीले कांग्रेसको विरोध गरेकोमा असन्तुष्टि जनाए ।
सरकारले धेरै काम गरेको बताएका उनले भने, ‘चार सय झोलुङगे पुल बनेका छौं । चालीस वटा तुइन विस्थापित भएको छ । आठ सय बाटो कालोपत्र भएको छ । भेरी डाइभर्सनमा ब्रेक थ्रु गरेको छु ।’
सरकारले काम गरेको नदेख्ने आलोचकहरूलाई गान्धारी नबन्न ओलीले आग्रह गरे । ‘आँखामा पट्टी बाँधेर हेर्नु भएन’, उनले भने, ‘सरकारले गरेको काम हेर्न आँखामा लगाएको पट्टी हटाउनु पर्छ ।’
ठेकेदार भागेका कारण मेलम्ची खानेपानी काठमाडौंमा आउन नसकेको उनले बताए । उनले भने, ‘ठेकेदार भाग्दैमा मेलम्ची आउँदैन भन्ने होइन । मेलम्ची आउँछ । अलिक ढिला आउँछ ।’
ओलीले आगामी बजेटमा वृद्ध भत्ता बढ्ने बताएका छन् । ‘वृद्ध भत्ता बढाउन सकिएको थिएन । अब बढ्छ । बाँसुरी बजाउन पनि रोकिन्छ’, उनले भने ।
प्रधानमन्त्री ओलीले कम्युनिस्टहरूको झण्डै दुई तिहाइको सरकार रहेको भन्दै बहुमतको सरकारले काम गरेको बताए । ‘हाम्रो आफ्नै बहुमतको सरकार छ । कसैको साथ चाहिएको छैन । दुई तिहाइको आसपासमा एक्लै छौँ’, उनले भने, ‘सरकारले काम गर्छ ।’
३३ किलो सुनका दोषीलाई जेलमा हालेको बताएका ओलीले सुन तस्करहरू डराएको बताए । ओलीले आफू प्रधानमन्त्री भएपछि भ्रष्टाचार रोकिएको पनि बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत