विष्णु पौडेललाई बचाउन भ्रष्ट कम्युनिस्ट सरकार लागेको छः रामचन्द्र पौडेल

बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकार संस्थागत भ्रष्टाचारमा चुर्लम्म डुबेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ ले बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले कम्युनिस्ट सरकारको सम्वृद्धिको नारा बिहानीमा कुइराको काग सरह भएको टिप्पणी गरेका छन् ।

वर्तमान सरकारले अरुको आलोचना मात्र गर्ने आफ्नो गल्ती चाहिँ नदेख्ने गरेको आरोप पौडेलले लगाए ।

ठूला योजना कांग्रेसले सुरुवात गरेको भन्दै नेता पौडेलले श्रेय लिनका लागि र फोटो खिच्नका लागि अहिलेका प्रधानमन्त्री र मन्त्रीहरू दौडिएको आरोप लगाए ।

उनले शक्ति पृथक्कीकरणको सवालमा सरकारले न्यायालयको अधिकार आफैमा अन्तरनिहीत गर्नु यो सरकारको अधिनायकवादको यात्रा भएको बताए ।

नेता पौडेलले नेकपाका महासचिव विष्णु पौडेलले पार्टीलाई निर्वाचनमा ४ करोड सहयोग गरेकाले ८ आना जग्गा खरिदको प्रकृयामा निर्दोष सावित गर्न निरंकुश कम्युनिस्ट सरकार र नेकपा लागिपरेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी महाधिवेशन गर्न ढिलाइ गर्न नहुने बताए । उनले बिधि र बिधान पूर्वक पार्टी चल्न नसकेको समेत आरोप लगाए ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीमा व्यवस्थापकीय क्षमता कमजोर रहेको बताए । उनले संवैधानिक आयोगलाई नियन्त्रणमा लिएर ओली सरकारले संविधानलाई लत्याएको आरोप लगाए ।

युवा नेता गगन थापाले कांग्रेसको नेतृत्वमा आएको संविधान र कांग्रेसकै नेतृत्वमा भएको निर्वाचनले बनेको दुई तिहाईको सरकारले गरेका हर्कतबाट जनता आजित भएको बताए ।

नेता थापाले अहिलेको सरकारबाट नै संबिधानमाथि धेरै खतरा रहेको आरोप समेत लगाए । उनले वर्तमान समयमा कांग्रेसको कर्तव्य संविधान जोगाउनु भएको उल्लेख गरे ।

थापाले भने, ‘संविधान असफल भयो भने नेपालले पुरानो नियति भोग्छ, तसर्थ संविधान जोगाउनु कांग्रेसको कर्तव्य हो ।’

संवैधानिक मर्यादामा बस्नुपर्ने राष्ट्रपतिले पूर्व राजसंस्थाको भद्दा नक्कल गरेकाले प्रत्येक दिन जनता आजित भएको समेत नेता थापाले बताए ।

राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता बद्री पाण्डेले सरकार अधिनायकवादको बाटोमा हिँडेको भन्दै सबै एकजुट भएर सरकारका गतल कामका बिरुद्ध आन्दोलन गर्नुपर्ने बताए ।

पाण्डेले पार्टीभित्रको अन्तरकलह विस्तारै मत्थर पार्नु पर्ने उल्लेख गर्दै उनले आन्तरिक प्रतिस्पर्धालाई ईगोको रुपमा लिएर जान नहुने बताए ।

Published : Saturday, 2019 April 20, 10:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया