प्रचण्ड–गौतमले साथ दिएपछि विष्णु पौडेल मख्ख, बालुवाटारलाई तनाव
काठमाडौं । बालुवाटारको सरकारी जग्गा किनेर विवादमा परेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले तत्काल राजीनामा नदिने संकेत गरेका छन् ।
आफ्नै दलभित्र नेताहरूले पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न दवाव परिरहेका बेला महासचिव पौडेलले दोस्रो पटक लामो विज्ञप्ति जारी गरेर आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
पौडेलले विज्ञप्तिमार्फत आफू तत्काल महासचिव पदबाट राजीनामा दिने मुडमा नरहेको स्पष्ट पारेका छन् । उनले आफ्ना विरोधीहरूलाई कडा जवाफ दिँदै विज्ञप्तिमार्फत अडानलाई दृढताका साथ राखेका छन् ।
पौडेलले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको विषयमा शुक्रबार दोस्रो विज्ञप्ति जारी गरेका छन् । शुक्रवार जारी विज्ञप्तिमा उनले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बेचेर आएको रकमले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको उल्लेख गरेका छन् ।
छोरा नवीन पौडेलको नाममा २०६१ पुस २९ गते किनिएको ८ आना जग्गालाई लिएर विवाद भएपछि पौडेलले दोस्रो विज्ञप्तिमार्फत आफ्नो बचाउ गरेका हुन् । उनले जग्गा विवाद प्रकरणमा ६ बुँदे प्रष्टीकरण दिएका छन् ।
महासचिव पौडेलले गैरकानूनी रुपमा दर्ता भएका जग्गाको दर्ता बदर गरी सरकारको नाममा कायम गर्ने तथा यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कारवाही गर्ने सरकारको अभियानमा आफूले सघाइरहेको दाबी गरेका छन् ।
महासचिव पौडेलले आफू कुनै पनि तहको जिम्मेवारीमा नरहेको बेला बर्दघाटमा श्रीमतीको नाममा रहेको जग्गा बेचेर बालुवाटारको जग्गा खरिद गरिएको बताएका छन् ।
सत्तारुढ नेकपाका नेताहरूले बालुवाटारको जग्गा खरिद प्रकणमा पौडेल मुछिएपछि अनुसन्धान र छानविनमा सहयोग गर्न महासचिव पदबाट राजीनामा दिएर सहयोग गर्नुपर्ने बताउँदै आएका छन् ।
बालुवाटारको जग्गा प्रकरणलाई लिएर पौडेलले नेकपाका प्रभावशाली नेता बामदेव गौतमसँग गोप्य परामर्श समेत गरिसकेका छन् । गौतम र नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीना नदिन पौडेललाई सुझाव दिएपछि दोस्रो विज्ञप्ति आएको चर्चा शुरु भएको छ ।
महासचिव पौडेललाई प्रचण्ड र गौतमले साथ दिएपछि अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई तनाव बढेको चर्चा हुन थालेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत