प्रचण्डको महँगो मर्निङवाक, सुरक्षाकर्मीहरूलाई हैरानी

काठमाडौं । रमाइलो गर्न सुकुटे रिसोर्ट पुगेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बिहान दलबलसहित ‘मर्निङवाक’ हिँडेका छन् ।

एक दर्जन सुरक्षाकर्मी र अंगरक्षकहरूसहित प्रचण्ड सुकुटे रिसोर्टबाट मर्निङवाकमा निस्किएका थिए । मर्निङवाकमा उनको सुरक्षाका लागि एक दर्जन सुरक्षाकर्मीहरू अगाडि पछाडि हस्याङफस्याङ गरेर दौडिएका थिए ।

स्थानीयले प्रचण्डको मर्निङवाकलाई ‘महँगो मर्निङवाक’को संज्ञा पनि दिएका छन् । ‘प्रचण्डज्यू मर्निङवाकमा जाँदा यति धेरै सुरक्षाकर्मी लिएर हिँडेको देख्दा आमसभामा गए जस्तो लाग्यो’, प्रत्यक्षदर्शी एकजनाले भने, ‘सुरक्षाकर्मीहरूलाई हैरान । बरु मर्निङवाक एक्लै सुटुक्क हिँड भइहाल्यो नि !’

प्रचण्ड बिहीबार पत्नी सीता दाहालसहित आफ्ना परिवारका सदस्यहरूलाई लिएर रमाइलो गर्न सिन्धुपाल्चोकको सुकुटे रिसोर्टमा बास बस्न पुगेका थिए । प्रचण्डको यो व्यवस्था नेकपाका नेता अग्नि सापकोटाले मिलाएको चर्चा छ ।

प्रचण्डको परिवारलाई सुकुटे रिसोर्टले कालिजको मासु र परिकारले स्वागत गरेको स्रोतको भनाइ छ ।

केही महत्वपूर्ण निर्णय गर्नुपरेमा प्रचण्ड सुकुटे रिसोर्टमा पुग्ने गरेको चर्चा चल्दै आएको छ ।

बिहीबार नै प्रचण्ड आफ्नो परिवारका सदस्यहरूसँग सुनकोशी नदीमा र्‍याफिङ समेत गरेका छन् । र्‍याफिङका क्रममा प्रचण्ड र उनको परिवार हँसिलो र खुसी देखिएको थियो ।

केही दिन अगाडि नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीसहितका शीर्ष नेताहरूसँग प्रचण्ड विवादास्पद व्यापारी चन्द्र ढकालको चन्द्रागिरी रिसोर्टमा रमाइलो गरेका थिए । सोही रिसोर्टमा नेकपाको पार्टी समायोजनबारे कुराकानी र परामर्श समेत भएका थियो ।

आफ्नो माओवादी पार्टीले तत्कालीन एमालेमा मिसाएपछि राजनीतिक रुपमा बेरोजगार जस्तै देखिएका प्रचण्ड बेलाबेला पत्नीलाई घुमाउन रमणीयस्थलहरूमा जाने गरेका छन् ।

प्रचण्डकी पत्नी सीता दाहाल बिरामी छिन् । उनको नियमित उपचार हुँदै आएको छ । केही हप्ता अगाडि प्रचण्डले पत्नीलाई अमेरिका लगेर उपचार गराएर फर्र्किएका थिए ।

नेकपामा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी समायोजन गर्ने भनिए पनि कुरा मिल्न सकेको छैन ।

६०–४० को भागबण्डासहित पार्टी समायोजन गर्ने गरेर भित्र कुरा मिलाएको नेताहरूको दाबी छ ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई समायोजनका बेला कर्नरमा पारेर ओली र प्रचण्डले आफू निकटका नेता तथा कार्यकर्ताहरूलाई मात्रै समायोजन गर्न लागेको भनेर आरोप पनि लागेको छ ।

ओली र प्रचण्डको यो रणनीतिलाई राम्रोसँग बुझेका नेपाल र खनालले पनि भित्रभित्रै गुटबन्दी गरेको स्रोतको भनाइ छ ।

अर्का नेता बामदेव गौतमले पनि आफ्ना नेता तथा कार्यकर्ताहरूलाई पनि सहि ठाउँमा राख्न जोडजुलुम गरेका छन् । गौतमले आफू निकटका नेताहरू प्रत्येक दिन जस्तै भेला र गोप्य बैठकहरू गर्ने गरेका छन् ।

महासचिव विष्णु पौडेल बालुवाटारको जग्गा काण्डमा फसेपछि नेकपाभित्र बबण्डर हुँदै आएको छ । नेकपाको वैशाख ९ गते स्थापना दिवस पर्छ ।

त्यो स्थापना दिवस अगाडि नै पार्टी समायोजन गर्ने दाबी शीर्ष नेताहरूको छ । महासचिव पौडेललाई राजीनामा गर्न लगाउने विषयमा पनि नेकपाभित्र चर्चा शुरु भएको छ ।

पौडेलले महासचिव पदबाट राजीनामा नदिनेमा मुडमा छन् । पौडेलले राजीनामा नदिए बर्खास्त गर्नु पर्ने दवाव ओलीलाई छ ।

महासचिव पौडेल ओलीसँग भन्दा पनि प्रचण्ड र बामदेव गौतमसँग पछिल्लो समय निकटमा छन् । पौडेलको यही निकताले गर्दा ओली झस्किएको र बालुवाटारको जग्गा काण्ड बाहिर ल्याइदिएको चर्चा हुन थालेको छ ।

स्रोतका अनुसार प्रचण्डले सुकुटे रिसोर्टमा महासचिव पौडेललाई कसरी संरक्षण गर्न सकिन्छ भनेर नेता अग्नि सापकोटासँग पनि परामर्श गरेका छन् । सापकोटालाई प्रचण्डले अति नै विश्वास गर्छन् ।

प्रचण्डका हरेक गतिविधि र योजनाहरू सापकोटालाई पहिला नै थाहा हुन्छ भनेर पत्रकारहरूका माझ चर्चा हुने गरेको छ ।

Published : Friday, 2019 April 19, 12:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया