विश्वप्रकाश भन्छन्, ‘मेलम्चीको पानी ल्याउन नसक्नेले रेल ल्याउँछ ?’

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालमा रेल ल्याउने योजना हावादारी नभएको बताएका छन् ।

पोखरामा शनिबार आयोजित कार्यक्रममा उनले नेपालमा रेल ल्याउने योजना जिम्मेवार सपना भएको पनि बताए ।

प्रधानमन्त्री केपी ओलीले भनेझैं रेल छिट्टै नआए पनि रेल ल्याउने योजना हावादारी भने नभएको उनको भनाइ छ ।

शर्माले रेल ल्याउने योजना कांग्रेसले घोषणापत्रमै उल्लेख गरेकोसमेत स्मरण गराएका छन् ।

‘अहिले पनि नगरपालिका भनिएका डाँडाँमा सडक पुगेको छैन । रेल आउनुहुन्न भन्ने होइन’, शर्माले भने, ‘जसले मेलम्चीको पानी सुरुङबाट छेडेर ल्याउन सकेन उसले पूर्व–पश्चिम रेल ल्याउँछ ?’, ओली सरकारले पूर्वपश्चिम रेल ल्याउन नसक्ने उनले बताए ।

बुढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाउनुपर्ने उनले बताए । ‘झापाका धुर्मुस–सुन्तलीले विश्वभरि पैसा उठाएर चितवनमा क्रिक्रेट रंगशाला बनाउने योजना बनाउन सक्ने झापाकै केपी ओलीजीले बुढीगण्डकी बनाउन चीनलाई दिने ?’, शर्माले प्रश्न गरे ।

भात पकाउन पनि भाँडा, पानी, चामल र आगो चाहिने बताएका शर्माले मीठो भात पकाउन धैर्यतापूर्वक विवेक चाहिने बताए । ‘विकास सुस्त–सुस्त हुन्छ’, उनले भने, ‘कांग्रेसलाई सुस्त पार्टी भन्छन् नि ! विकास हुने नै सुस्त हो ।’

माओवादी र राजाको गोलीका बीचबाट कांग्रेसले सुस्त–सुस्त विकास गरेको उनले दाबी गरेका छन् ।

Published : Saturday, 2019 April 13, 5:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया