कांग्रेसको नेतृत्वमा ओली सरकारविरुद्ध आन्दोलन गर्न साना दलहरूको प्रस्ताव

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र साना कम्युनिस्ट पार्टीहरूले खड्गप्रसाद ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेसको नेतृत्वमा आन्दोलन गर्न प्रस्ताव गरेका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)सहितका प्रतिपक्षमा रहेका दलहरू आवद्ध ११ विद्यार्थी संघ/संगठनहरूले शुक्रबार काठमाडौंमा ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन’ विषयक विचार गोष्ठिमा ओली सरकारविरुद्ध कांग्रेसको नेतृत्वमा आन्दोलन घोषणाको प्रस्ताव आएको हो ।

राष्ट्रिय जनतापार्टी नेपाल (राजपा)का नेता राजेन्द्र महतो, नयाँ शक्ति पार्टी (नेपाल), क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य, नेकपा (माले)का महासचिव सीपी मैनाली, एकीकृत माओवादीका अध्यक्ष गोपाल किरातीसहितका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग आन्दोलनको नेतृत्व गर्न आग्रह गरेका हुन् । उनीहरूले देउवासँग बैठक बोलाएर ओली सरकारविरुद्ध आन्दोलनको एजेण्डा र सहकार्यका विषयमा छलफल गर्न समेत आग्रह गरेका छन् ।

सभापति देउवाले सम्बोधनका क्रममा साना दलहरूको प्रस्तावको जवाफ नदिए पनि ओली सरकारको आलोचना गर्दै आन्दोलनको आवश्यक्ता आफूले पनि महशुस गरेको बताए ।
साना दलका नेताहरूले संसदमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा रहेकाले आन्दोलन गर्न सजिलो हुने र जनताले साथ दिने बताए ।

सभापति देउवाले ओली सरकारविरुद्ध आन्दोलनको विकल्प नभएको बताएका छन् । उनले ओली नेतृत्वमा सरकार गठन भएको एक वर्ष वितिसक्दा पनि देखाउन लायक एउटा पनि काम गर्न नसकेको भन्दै आलोचना गरे ।

अहिलेको सरकार गठन भएपछि करले जनताको ढाड सेकिएको उनले आरोप लगाए । देउवाले प्रधानमन्त्री ओलीको नाम परिवर्तन गरेर करप्रसाद ओली राख्नुपर्ने बताए । ‘कुखुरालाई एउटा जिल्लाबाट अर्को जिल्लामा लैजादा पनि कर लिने गरिएको छ’, उनले भने, ‘कर लिने पनि एउटा सीमा र हद हुन्छ ।’

सभापति देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्या–हिंसा त्यागेर शान्तिपूर्ण बाटोमा आउन आग्रह गरे । उनले सरकारलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न पनि सुझाव दिए ।

‘विप्लव पनि हत्या–हिंसा छाडेर आउनुपर्छ । बम पड्काएर, मान्छे मारेर केही हुनेवाला छैन’, देउवाले भने, ‘सरकारले विप्लवसँग तत्काल वार्ता अगाडि बढाउनुपर्छ ।’ सभापति देउवाले भने, ‘ओली सरकारले वार्ता गर्नेलाई प्रतिवन्ध लगाएको छ । प्रतिवन्ध लगाउनेलाई वार्ता गरेको छ ।’

क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यले मुलुकको अहिलेको स्थिति अत्यन्तै गम्भीर अवस्थामा पुगेको बताए । उनले आन्दोलनको आवश्यकतामा जोड दिएका छन् ।

उनले ओली सरकारले आफूलाई कम्युनिष्ट सरकार भनिरहेकोमा आपत्ति जनाए ।

अध्यक्ष वैद्यले ओली नेतृत्वको सरकारलाई दलालको संज्ञा दिएका छन् । ‘यिनीहरू आफूलाई कम्युनिष्ट भनिरहेका छन् । न यिनीहरू कम्युनिष्ट हुन न लोकतन्त्रवादी नै’, वैद्यले भने, ‘यिनीहरू दलाल हुन् । फाँसीवादी हुन् ।’

उनले विप्लवमाथि लगाइएको प्रतिवन्ध फुकवाको माग गर्दै राजनीतिक तवरले उठेका मुद्दाको सुनवाई राजनीतिक ढंगबाटै गरिनुपर्नेमा जोड दिए ।

वैद्यले सीके राउनसँग सरकारले गरेको सम्झौतामा गम्भिर रहस्य लुकेको पनि दावी गरेका छन् ।

नेकपा (माले)का महासचिव सीपी मैनालीले सरकाविरुद्धको आन्दोलनका लागि प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठक बोलाउन कांग्रेस सभापति देउवासँग आग्रह गरेका छन् ।

‘अहिलेको आवश्यकता एजेण्डा बनाएर लड्नु हो । सार्थक साझा एजेण्डा बनाउनु जरुरी छ’,’ उनले भने, ‘आन्दोलनको तयारीका लागि देउवाजीलाई सबै दलको बैठक बोलाउन आग्रह गर्दछु ।’

राजपा नेपालका नेता राजेन्द्र महतोले ११ वटै विद्यार्थी संगठनहरूलाई सरकारविरुद्ध आन्दोलनका लागि तयार भएर बस्न निर्देशन दिए । ‘उखान टुक्काले देश चल्दैन । यो सरकारविरुद्धको आन्दोलनका लागि विद्यार्थी साथीहरू तयार भएर बस्नुस्’, उनले भने, ‘सडकमै आन्दोलनका क्रममा हामी भेटौंला ।’

नेता महतोले जनताका समस्याहरूको समाधानका लागि आन्दोलन बाहेक अन्य कुनै उपाय बाँकी नरहेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले सरकार लोकतन्त्रका उपलब्धि खोस्न खोजिरहेको आरोप लगाए । उनले कांग्रेसका सभापति देउवालाई सम्पूर्ण लोकतान्त्रिक शक्तिका तर्फबाट आन्दोलनको अगुवाइ गर्न आग्रह गरे । उनले वामपन्थी शक्तिको अगुवाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले गर्ने बताए ।

सरकारले सीके राउतसँग गरेको सम्झौताको आलोचना गर्दै किराँतीले कांग्रेसको सरकारको पालमा उक्त सम्झौता गरिएको भए तत्कालीन नेकपा माओवादीले सरकार ढालेर देखाउने सम्भावना रहेको बताए ।

‘सीके राउतसँग कांग्रेसको सरकारले सम्झौता गरेको भए यी एमालेहरूले सरकार उखेलेर हटाई दिन्थे’, किरातीले भने, ‘सरकारविरुद्ध वामको अगुवाई किरणजीले गर्नुहुन्छ, देउवाजी तपाईं लोकतान्त्रिक शक्तिका तर्फबाट आगुवाइ गर्नुस् । ओली सरकार राजीनामा गर भनेर सडकमा जाउँ ।’

नेकपाका अध्यक्ष ऋषि कट्टेलले देश ओलीतन्त्रको यातना गृहका रुपमा रुपान्तरण भएको बताए ।

कार्यक्रम नेपाल विद्यार्थी संघका नेता ऋषिकेश शाहको अध्यक्षतामा भएको थियो । कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतसहितका नेताहरू उपस्थित रहेका थिए ।

Published : Friday, 2019 April 12, 9:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया