कांग्रेस नेता खतिवडाद्वारा प्रचण्ड–महराको ‘राज’को खुलासा, कम्युनिस्टहरूको पर्दाफास
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले एनसेलनको लाभकर उठाउन नचाहेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेस नेता खतिवडाले प्रचण्ड र महराको पालादेखि एनसेललाई लाभकरमा छुट दिएको दाबी गरे ।
‘प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो । कृष्णबहादुर महराजी अर्थमन्त्री हुनुहुन्थ्यो । म लेखा समितिको सदस्य थिएँ । त्यस बेला लेखा समितिले लाभ कर उठाउन सरकारलाई निर्देशन दियो । प्रचण्ड र महराजीले केही कर उठाउनुभयो’, उनले भने, ‘थोरै कर उठाउनु भयो । बाँकी लाभ कर एनसेललाई छुट दिन चलखेल गर्नुभयो । कर उठाउन सक्नु भएन ।’
एनसेलले राज्य संयन्त्र र नेताहरूलाई आफ्नो प्रभावमा पारेर राखेको खतिवडाले आरोप लगाए । उनले आफू कहिल्यै पनि एनसेलको प्रभावमा नपरेको बताए ।
एनसेलको लाभ कर उठाउने विषयमा आफूले ठूलो भूमिका खेलेको बताएका कांग्रेस नेता खतिवडाले भने, ‘मलाई चारैतिरबाट त्यस बेला आक्रमण भएको थियो । एनसेलका निकटका केही व्यक्तिले मलाई निर्वाचनमा हराइदिन्छु भनेर धम्की दिने गरेका थिए । तर, म डराइन ।’
सर्वोच्च अदालतले राम्रो फैसला गरेको बताएका कांग्रेसका नेता खतिवडाले एनसेलले लाभ कर तिर्न नमाने बैंक खातामा रहेको पैसा सिज गरेर भएपनि लिनुपर्ने फैसलाको जनताले स्वागत गरेको बताए ।
बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजानेहरूलाई हदैसम्मको कारबाही गर्नुपर्ने कांग्रेस नेता खतिवडाले बताएका छन् ।
कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रधानमन्त्री निवासलाई पार्टी प्यालेस बनाएको खतिवडाले बताए । ‘प्रधानमन्त्री निवासलाई ओलीजीले पार्टी प्यालेस बनाउनुभएको छ । दिनदिनै केक काट्नु हुन्छ’, उनले भने, ‘बालुवाटारको जग्गा व्यक्तिको नाममा बनाउने रिपोर्ट आउँदा ठाडो निर्देशन दिएर कारबाही गराउनु पर्ने थियो । तर, ओलीजीले निर्देशन दिन सक्नु भएन ।’
कांग्रेसका युवा नेता खतिवडाले भने, ‘ललिता निवासलाई नेपाल सरकारमा ल्याउनुपर्छ । दोषीहरूलाई कारबाही गर्नुपर्छ । प्रतिवेदन बुझ्नेवित्तिकै ओलीले कारबाही गर्न भन्न सक्नु पर्दथियो । प्रतिवेदन बुझेर चुपचाप बस्नुभयो ।’ बालुवाटारको जग्गा प्रतिआना ७ लाख रुपियाँमा मूल्यांकन गरेर बदमासी गरेको उनले बताए ।
पत्रकार ऋषि धमलाले बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजान नेकपाका महासचिव विष्णु पौडेलको नाम पनि जोडिएको छ नि हो ? भनेर सोधिएको प्रश्नको जवाफमा कांग्रेसका नेता खतिवडाले भने, ‘हुन सक्छ । यस्ता शक्तिशालीहरूलाई कारबाही गर्नुपर्छ ।’
पार्टीभित्रको विवाद मिलाउनुपर्ने उनको भनाइ छ । कांग्रेसलाई बलियो बनाउन शीर्ष नेताहरू मिल्नै पर्ने खतिवडाले बताए । नेता कृष्णप्रसाद सिटौलाले व्यक्तिगतभन्दा पनि पार्टीको समग्र हितको काम गर्नुपर्ने बताए । ‘कृष्णप्रसाद सिटौला राम्रो नेता हुनुहुन्छ । तर, उहाँ जस्तो नेता च्याखेदाउँ थापेर बस्नु भएन’, उनले भने, ‘कहिले कता ? कहिले कता ? गरेर बस्नु भएन सिद्धान्तमा अडिनु पर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत