कम्युनिस्टहरूलाई ‘कुचो’ लगाउँदै कांग्रेसले फिर्ता लियो गुमेको किल्ला
त्रिशूली । नुवाकोट उद्योग वाणिज्य संघको दशौँ अधिवेशनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील व्यवसायिक प्यालन बढारिएको छ ।
नुवाकोटमा नेपाली कांग्रेस फेरि एक पटक प्रभावकारी रुपमा अगाडि आएको छ । प्रतिनिधि सभा, प्रदेश र स्थानीय तहको निर्वाचनका बेला अन्तरघातमा परेको कांग्रेसले यस पटक उद्योग वाणिज्य संघमा कब्जा जमाएको छ ।
नेपाली कांग्रेसका नेता डा.रामशरण महत, अर्जुननरसिंह केसी र जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले निर्वाचन अघिदेखि मतगणना सपन्न हुने समयसम्म संघमा उम्मेदवारी दिएका व्यवसायीलाई उत्साहित बनाएका थिए ।
उनीहरूको प्रयासमा नुवाकोटमा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक प्यानल विजयी भएको छ । विजयी भएपछि कांग्रेस नेताहरूले अबिर जात्रा गरेर खुशीयाली मनाएका छन् ।
कांग्रेसका केन्द्रीय नेताहरूले मतगणनास्थलमै उपस्थित भएर विजयी उम्मेदवारहरूलाई शुभकामना दिएका छन् ।
नेता अर्जुन नरसिंह केसीले कम्युनिस्टहरूको अधिनायकवाद अब धेरै समय नटिक्ने बताए । उनले झुट र भ्रमको खेती गरेर जनतालाई झुक्याएकाले जनताले अब कम्युनिस्टहरूलाई विश्वास नगर्ने उल्लेख गरे ।
केन्द्रीय सदस्य केसीले कांग्रेस आफै एकजुट हुँदा कसैले बिगार्न नसक्ने भन्दै पार्टीभित्र व्यापक सुधारको खाँचो रहेको बताएका छन् ।
नेपाली कांग्रेस निकटका उम्मेदवारले जितेर कम्युनिष्टहरूको नामोनिसाना नै मेट्न सफल भएपछि जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले भविष्य फेरि पनि लोकतन्त्रवादीहरूकै छ भन्ने प्रमाणित भएको बताए ।
कांग्रेसको तर्फबाट विज्ञप्ति जारी गर्दै सभापति केसीले भनेका छन्, ‘निर्वाचन परिणामले देशलाई कम्युनिस्ट अधिनायकवादतर्फ धकेल्ने कम्युनिस्ट मृगतृष्णाले हावा खाइसकेको र बाहिर सुन्दर र भव्य देखिएको ‘वामदरबार’को जग मक्किएर जीर्ण र जर्जर भइसकेको तथा जुनसुकै बेला सानो धक्कामै ध्वस्त हुने कुरालाई सिद्ध गरेको छ ।’
‘भविष्य फेरि पनि लोकतन्त्रवादीहरूकै छ भन्ने प्रमाणित भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी लोकतन्त्रवादीहरूको एकताको ऊर्जामा त्यो उपलब्धि सम्भव छ भन्ने कुरा पुष्टि भएको छ । जय नेपाल ।’
सोमबार साँझ सार्वजनिक अन्तिम मत परिणाममा लोकतान्त्रिक प्यानलका तर्फबाट अध्यक्ष ताराबहादुर कार्कीसहित प्यानलका सबै सदस्य विजयी भएका छन् ।
कार्कीले प्रगतिशील व्यवसायिकका अध्यक्ष रमेश श्रेष्ठलाई २ सय २३ मत अन्तरले पराजित गरेका छन् ।
कार्कीले कुल ८ सय १७ मत प्राप्त गरेका छन् । रमेश श्रेष्ठले ५ सय ९४ मत प्राप्त गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा गीता अमात्य, प्रथम उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सन्तोष उप्रेती, महासचिवमा कृष्णप्रसाद अधिकारी, सचिवमा उपेन्द्र बुढाथोकी, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ र प्रवक्तामा सविन राजभण्डारी लगायत दशैँ जना सदस्य विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
महिला सदस्यमा लिस्ना प्रधान श्रेष्ठ, अञ्जली राजभण्डारी, ज्ञानुमाया गिरी र सदस्यमा निरोजकुमार खड्गी, मधुसुदन थपलिया, उद्धवराज पन्थ, सुचित जोशी, मेघनाथ घिमिरे, सुमन भण्डारी, गगन लामा, विष्णु प्याकुरेल, सरोज श्रेष्ठ विजयी भए ।
वस्तुगततर्फ लोकतान्त्रिक समुह कार्की प्यानलबाट ध्रुवकुमार रावलले ५ मत र उत्तम ढकालले ५ मत प्राप्त गरी विजयी भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत