बारा–पर्सा पीडामा रहेका बेला प्रधानमन्त्रीको सरकारी क्वाटरमा मन्त्रीको जन्मोत्सव (तस्वीर)

काठमाडौं । कम्युनिस्ट सरकारका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको जन्मोत्सव सोमबार भव्य रुपमा प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारी निवास बालुवाटारमा मनाइएको छ ।

बालुवाटारको बैठक हलमा मन्त्री पोखरेलको जन्मोत्सव ठूलो केक काटेर मनाइएको हो । प्रधानमन्त्री ओली आफैले उपप्रधान एवम् रक्षामन्त्री पोखरेलको जन्मोत्सव मनाउन कार्यक्रम राखेका थिए ।

उपप्रधान तथा रक्षामन्त्री पोखरेलको जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले पुष्प गुच्छासहित केक खुवाएर पोखरेललाई शुभकामना दिएको प्रधानमन्त्री ओलीको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

सोमबार अपरान्ह प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकको शुरुमै ओलीले बडेमानको महँगो केक काटेर उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेललाई खुवाएका थिए ।

बारा–पर्सामा भएको हावाहुरीको पीडामा रहेका बेला प्रधानमन्त्री ओलीकै सरकारी निवासमा मन्त्रीको जन्मोत्सव मनाइएपछि नेपाली कांग्रेसले आश्चर्य व्यक्त गरेको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले मन्त्रीको जन्मोत्सवमा खर्च भएको पैसा एकजना पीडितको राहत र उद्धारमा खर्च गरेको भए कति राम्रो सन्देश दिने थियो भनेर प्रतिक्रिया दिएका छन् ।

बैठकमा उपस्थित अन्य मन्त्रीहरूले पनि मन्त्री पोखरेललाई जन्मदिनको शुभकामना दिएका छन् ।

सत्तारुढ दलका कम्युनिस्ट नेताहरूमा पछिल्लो समय आफ्नो जन्मोत्सव भव्य रुपमा मनाउने लत लागेको छ ।

उपप्रधान एवम् रक्षामन्त्री पोखरेल मात्रै आफ्नो जन्मोत्सव धुमधामसँग मनाउने एक्ला नेता होइनन् । स्वयं प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओली, नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताहरू छन् ।

दुई तिहाइको वर्तमान कम्युनिस्ट सरकारका मन्त्रीहरूले आफ्नो जन्मोत्सव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मनाउन थालेपछि सामाजिक सञ्जालमा आलोचकहरूले आलोचना गर्दै आएका छन् ।

Published : Monday, 2019 April 8, 8:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया