विमानस्थल काण्डपछि विदेश उडे एसएसपी भण्डारी, आइजीपीमाथि विश्वासघात
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो परिणाममा बरामद भएको अवैध डलरसहितको विदेशी मुद्रामा विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीले गोलमाल गरेको अर्को तथ्य बाहिरिएको छ ।
एसएसपी भण्डारीले आफ्नै जुनियर अफिसरले पक्राउ गरेका व्यापारी सुवास श्रेष्ठसँग १५ हजार अमेरिकी डलर बरामद गरेको सूचीसहितको टिपोट जोहेरी दिएका थिए । तर, एसएसपी भण्डारीले जारी गरेको विज्ञप्तिमा दश हजार डलर मात्रै देखाइएको छ ।
प्रहरीका जुनियर अधिकृतले पक्राउ गरेको १५ हजार डलरमध्ये पाँच हजार डलर कता गायब भयो ? भनेर खोजतलास शुरु भएको छ । पाँच हजार डलर कता गायब भएको हो त्यस विषयमा एसएसपी भण्डारीलाई जानकारी रहेको उच्च स्रोतको भनाइ छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापारी सुवास श्रेष्ठ र एसएसपी भण्डारी तथा बरामद भएको अवैध विदेशी मुद्रा काण्डका बारेमा फ्रान्समा रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चासो दिएको स्रोतले जनाएको छ । सो विषयमा सत्यतथ्य पत्ता लगाएर दोषीलाई उम्किन नदिन आइजीपी खनालले मातहतलाई कडा निर्देशन दिएका छन् ।
आइजीपी खनाल आफैले विश्वास गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि पठाएका एसएसपी भण्डारीले नै व्यापारी सुवास श्रेष्ठलाई विदेशी अबैध मुद्रा तस्करीमा सहयोग गरेको चालपाएपछि चकित परेका छन् । एसएसपी भण्डारी बढुवामा पनि एक नम्बरमा परेका थिए । तर, उनको पछिल्लो हर्कतले प्रहरीभित्र हलचल ल्याइदिएको छ ।
स्रोतका अनुसार आइजीपी खनाल फ्रान्सबाट स्वदेश आउनेवित्तिकै विमानस्थलमा भएको विदेशी अवैध मुद्रा तस्करी काण्डमा एसएसपी भण्डारी मुछिएका विषयमा छानविन गर्न समिति बनाउने तयारी भएको छ ।
यता, अबैध डलरसहितको काण्डमा व्यापारी सुवास श्रेष्ठसँग नाम जोडिएपछि तनाबमा परेका एसएसपी भण्डारी तालिमका लागि विदेश उडेका छन् ।
ठूलो परिणाममा अवैध डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका व्यापारी सुवास श्रेष्ठलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
विमानस्थलको पार्किङ एरियामा ‘कान्तिपुर क्याफे’ समेत सञ्चालन गर्दै आएका श्रेष्ठले विगतमा पनि डलर तस्करी गर्दै आएको आशंकामा आइतबार पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
शुक्रवार मध्यान्ह पौने २ बजे थाई एयरको फ्लाईट नम्बर टिजी–३२० मार्फत पाँच सदस्य परिवारसहित बैंकक जाँदै गर्दा सुवास श्रेष्ठलाई थाई भाट २२ हजार १५०, युरो १३८०, अमेरिकी डलर १० हजार र चिनियाँ युआन ८० हजार सहित प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ गरेको केही समयमा उल्टै पक्राउ गर्ने प्रहरीहरूलाई हप्काएर विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीले व्यापारी श्रेष्ठलाई छाडेका थिए ।
श्रेष्ठलाई छाडेको र विदेशी मुद्राको विवरण तथा तस्वीर केही यात्रुहरूले सार्वजनिक गरेपछि आफै फस्ने डरले एसएसपी भण्डारीले शुक्रबार मध्यराति कागजमा हस्ताक्षर गर्न आउन बोलाएर व्यापारी सुवास श्रेष्ठलाई पक्राउ गरेका थिए ।
विमानस्थलभित्र भीआइपी पासको प्रयोग गरेर विगत ९ वर्षदेखि व्यापारी सुवास श्रेष्ठले तस्करी गर्दै आएको प्रहरी स्रोतको दाबी छ । विशेष गरेर सुवास श्रेष्ठले अवैध विदेशी मुद्रा तस्करी, डिउटी फ्रिका सामान बाहिर लगेर बिक्री लगायतका धन्दा गर्ने गरेको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत