देउवाले भाग दिएपछि पौडेल–सिटौला गुटभित्र मारामार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विववाद मिलाउने प्रयास गरिरहेका बेला केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहलाई सहमति ल्याउन शुक्रबार साँझ प्रयास गरेका थिए । बुढानिलकण्ठमा भएको छलफलमा सहमति भएको थियो । सहमतिसँग आइतबार बस्ने भनिएको बैठक तयारी नपुगेको भनेर स्थगित भएको छ ।
पूर्वपदाधिकारीको छलफलमा सभापति देउवाले समितिमा आठ सदस्यको नाम दिन नेता रामचन्द्र पौडेललाई आग्रह गरेका थिए । देउवाको आग्रहप्रति पौडेलले असन्तुष्टि जनाएपछि शनिबार बैठक नै नबसी स्थगित हुन पुगेको स्रोतको भनाइ छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यसम्पादन समितिमा रहने सदस्यहरूको नाम दिन नसकेका कारण सहमतिमा बैठक स्थगित गरेको जनाए ।
उता, वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूसँग सहमति भएको भनेर सभापति देउवा समूहले गलत प्रचार गरेको जनाएका छन् ।
पौडेलले कार्यसम्पादन समितिमा भागबण्डा गर्नेभन्दा पनि सिनियर नेताहरू सबैलाई समेट्नुपर्ने बताएका छन् ।
कार्यसम्पादन समिति अहिले फेरि गठन गर्दा सभापतिले भागबन्डा गरौँ, तपाईंहरूका मान्छे दिनुस् भनेको बताएका पौडेलले आफूले सिनियर साथी नेताहरूलाई समेर पारदर्शी समिति बनाउन भनेको बताए ।
यसअघि ६० चालीसको भागबण्डा खोजेका पौडेल समूहले फेरि कुरा फेरेका छन् । बुढानिलकण्ठ बैठकमा पौडेलले ६०–४० को कुरा उठाएपछि देउवाले ४० प्रतिशत भाग दिएका थिए । नेता सिटौला समूहलाई देउवाले पौडेल समूहतिरै गाभिदिएका थिए ।
तर, पौडेलले हुँदैन भनेपछि सिटौला समूहलाई मिलाउने जिम्मेवारी पनि देउवाले लिएका थिए । आफूले भाग नपाएपछि बुढानिलकण्ठबाट रिसाउँदै नेता सिटौला बाहिरिएका थिए ।
कार्यसम्पादन समितिमा रहने सदस्य धेरै भएपछि पौडेललाई छानौँट गर्न समस्या भएपछि फेरि देउवामाथि आरोप थुपार्दै पन्छिना खोजेको आरोप छ ।
२९ सदस्यीय समितिमा देउवाले पदाधिकारीमा रहेका नेता पौडेल, डा. शशांक कोइराला र सीतादेवी यादवबाहेक आठजना नेताको नाम मागेका थिए ।
सभापति देउवाले मागेको नाममा आफ्नो पक्षका सबै सिनियर नेता नअटाउने भएपछि पौडेलले असन्तुष्टि जनाएका हुन् । २९ सदस्यमा पौडेल पक्षका सबै सिनियर नेता ११ जनामा अटाउन सक्दैनन् ।
पार्टी वरीयताको २९औँ क्रमसम्म संस्थापनभन्दा पौडेल पक्षका नेता धेरै छन् । यसैले पनि पौडेलले सिनियर नेतालाई समेट्नुपर्ने भन्दै अडान राखिरहेका छन् ।
यसअघि महासमिति बैठकबाट सर्वसम्मत भएर केन्द्रीय समितिबाट बहुमतले पारित भएको विधानका केही विषयमा कांग्रेसमा पुनः विवाद शुरु भएको छ ।
पौडेल र सिटौला पक्षले केन्द्रीय सदस्य तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिकमा दोहोरिन नपाउने विषयलाई पुनः उठाउने भएको छ ।
नियमित केन्द्रीय समितिको बैठक बस्न नसकेका वेला कार्यसम्पादन समिति बैठकले पार्टीका विषयमा आवश्यक निर्णय गर्न सक्छ । यसकारण पनि यो समितिमा पर्न वरिष्ठ नेताहरूको लबिङ हुने गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत