तरुण दलले मृतकका परिवारलाई जनही दश हजार दिने
बारा । नेपाल तरुण दलले बारा र पर्सामा हावाहुरीबाट मृत्यु भएका आफन्तलाई जनही दश हजारका दरले राहत रकम उपलब्ध गराउने भएको छ ।
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बाराको प्रभावित क्षेत्रमा मृत्तकका परिवारलाई राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । बारा र पर्सामा २९ जनाको मृत्यु भएको छ ।
खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले बारा र पर्साका पीडितहरूलाई राहत र सहयोग उपलब्ध नगराइरहेका बेला तरुण दलका अध्यक्ष बस्नेतको घोषणाले मृतकका परिवारलाई सानो भएपनि राहत मिल्ने भएको छ ।
एकहप्तामा तरुण दलले आर्थिक सहयोग उपलब्ध गराउने नेपाल तरुण दल बाराका जिल्ला अध्यक्ष लोकेश सिंहले जानकारी दिए । सिंहका अनुसार तरुण दलका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूसँग रकम उठाएर वितरण गरिनेछ ।
तरुण दलका अध्यक्ष बस्नेतले तराईमा यति ठूलो विपद आएर जनधनको क्षति भएपनि कम्युनिस्ट सरकारले राष्ट्रिय शोक घोषणा नगरेकोमा आपत्ति जनाए । ‘तराईमा यति ठूलो मानवीय क्षति हुँदा पनि राष्ट्रिय शोक घोषणा गर्न कम्युनिस्ट सरकारले चाहेन’, उनले भने, ‘तत्काल राष्ट्रिय शोक घोषणा गर्न माग गर्दछु ।’
अध्यक्ष बस्नेतले विपदमा पनि राज्यले तराईलाई उपेक्षा गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाल तरुण दलले बुधबार हावाहुरी प्रभावितलाई राहत वितरण समेत गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखर यादव, पर्साका कोषाध्यक्ष इम्तियाज आलम, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष सञ्जय यादवलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत