कम्युनिस्ट सरकारले बारा–पर्सामा सहयोग गर्न खुट्टा कमायोः गगन थापा
न्युयोर्क । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले बारा र पर्साका हावाहुरी पीडितलाई सहयोग गर्ने क्षमता सरकारसँग रहेपनि सहयोग गर्न खुट्टा कमाइ रहेको आरोप लगाएका छन् ।
अमेरिकाको बोस्टनमा कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति बोस्टन च्याप्टरले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा थापाले सरकारसँग धन भए पनि सरकारचलाउनेसँग मन नभएको बताए । उनले बारा र पर्साका पीडितहरूलाई सबैले सहयोग गरेको भन्दै सहयोगका लागि अझैँ आवश्यक्ता हरेको बताए ।
‘बारा र पर्साका पीडितहरूलाई सहयोग गर्न सरकारको साधन स्रोतले भ्याउँछ । तर, सरकार चलाउनेहरूको मन छैन’, कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका युवा नेता थापाले भने, ‘नेपाल सरकारले स्रोतका हिसावले विपत्तीलाई ठीक ठाउँमा ल्याउन सक्छ’, उनले भने, ‘स्रोत र धनको कुरा मात्रै होइन मनको कुरा पनि हो ।’
कांग्रेसका युवा नेता थापाले देश समस्यामा परेका बेला नेपालीहरू मेची महाकालीमा मात्रै छैनन् विश्वभरि छन् भनेर देखाउनु परेको बताए । उनले यस्तो बेलामा सरकारमार्फत नेपालीले सहयोग गरेर पीडितसम्म सहयोग पु¥याउनुपर्ने बताए ।
कांग्रेस नेता थापाले नेपाललाई विपतबाट सामना गर्ने देश बनाउनुपर्ने बताएका छन् । उनले सूचना प्रविधिलाई प्रयोग गरेर प्रकृतिक विपत्तीबाट बच्नुपर्ने बताए ।
‘भूकम्प र हावाहुरीको डिजास्टर आयोभन्दैमा डराउनु हुँदैन । अब डिजास्टरसँग कसरी बच्न सकिन्छ त्यसबारेमा योजना बनाएर जानुपर्छ । अर्को वर्ष बाढी आउन सक्छ’, उनले भने, ‘भौतिक संरचनाहरू बाढी, पहिलो, हावाहुरी, भूकम्पबाट बच्न सक्ने खालका बनाउनुपर्छ । त्यसमा ध्यान दिनुपर्छ ।’
नेपालमा हालै सम्पन्न लगानी सम्मेलनबाट धेरै आशा लिन नसकिने उनले बताएका छन् । ‘लगानी सम्मेलन गरेर मात्रै हुँदैन । कांग्रेसले पनि लगानी सम्मेलन गरेर ठूलो लगानीको प्रतिवद्धता पाएको थियो’, उनले भने, ‘तयारी नै पुगेन । लगानीको उचित वातारण छैन । पूर्वाधार बनाउने । सुरक्षा दिने । लगानीको वातारण बनाउनु पर्छ ।’
प्रधानमन्त्री खड्गप्रसाद ओलीले सरकारलाई सही रुपमा चलाउन नसकेको थापाले आरोप लगाए । उनले कम्युनिस्ट सरकारसँग थुप्रै कुरामा असन्तुष्टि रहेको बताए ।
कांग्रेसका युवा नेता थापाले अहिलेको संविधानले गरेको व्यवस्थाको विकल्प खोज्न नहुने बताएका छन् । उनले भने, ‘हामी सबै मिलेर बनाएको संविधान हो । यसको संरक्षण गर्नुपर्छ । सरकारसँग असन्तुष्टि भयो भन्दैमा व्यवस्था नै बदल्नुपर्छ भन्नु हुँदैन । अहिलेको व्यवस्था राम्रो छ ।’
सरकारसँग रिस उठ्दा व्यवस्थाको बिरोध गर्ने गरिएकोमा कांग्रेस नेता थापाले असन्तुष्टि जनाए । उनले भने, ‘सरकारसँग रिस उठ्दा व्यवस्था नै उल्टाउनेतर्फ जानु हुँदैन । बरु सरकार परिवर्तन गर्ने हो भने निर्वाचनमार्फत गर्नुपर्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत