ओली पार्टीभित्र अल्पमतमा, अमेरिका भ्रमणपछि दाहाल मुख्ख
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरूबीच सहमति हुन नसक्दा समायोजनको टुंगो लगाउने विषय नै अन्यौलमा परेको छ । केही स्थानमा समायोजन गरिएको पनि छ तर, जिल्ला, भातृसंगठन र विभिन्न कमिटीहरूमा समायोजन भइसकेको छैन ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकलम दाहाल ‘प्रचण्ड’ले समायोजनलाई लम्बाउन चाहेको नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले नै आरोप लगाउने गरेका छन् । समायोजन गर्दा आफूले दावी गरेका स्थानहरू गुम्ने अध्यक्षद्धयलाई खतरा छ ।
तर, त्यो खतरालाई ओली र दाहालले मिलाउने प्रयास गरेका छन् । उनीहरूले माधवकुमार नेपाल र झलनाथ खनालको भागमा परेका स्थानहरूलाई आफैले लिने गरी खाका तयार पारेको स्रोतले जनाएको छ । वैशाखको पहिलो सातासम्म ओली र दाहालले पार्टी समायोजन गरिसक्ने बताएका छन् ।
नेपाल र खनाललाई समर्थन गर्ने जिल्ला अध्यक्षहरूलाई दाहाललाई दिने गरेर ओलीले तयारी गरेका छन् । ओलीको त्यो चाल बुझेपछि नेपाल र खनालले आपत्ति जनाएका छन् । नेपाल र खनालका कारण आफूलाई खतरा महशुस गरेका ओलीले उनीहरूको भागमा रहेका सबै संरचना खारेज गर्ने गरेर योजना बनाएको खनाल र नेपाल पक्षकै बुझाई छ ।
तर, ओलीको सबै योजना बुझेका दाहाल नेपाल र खनाललाई तत्काल नचिढाउने पक्षमा छन् । बरु उनीहरूको भाग नचलाउने तयारी दाहालको छ । ओलीकै भागका स्थानहरूमा दाहालले आँखा लगाएको स्रोत बताउँछ ।
यता, सरकारको कामकारबाहीप्रति खासै सन्तुष्ट छैनन् दाहाल । आफू निकटका नेताहरूसँग दाहालले ओलीको कार्यशैली सुध्रिएन भने गाउँका कार्यकर्तालाई मुख देखाउन लाज लाग्ने अवस्था आउन थालेको बताउने गरेका छन् । ओलीले हरेक निर्णयमा आफू एक्लैले गर्ने गरेकोमा दाहाल रुष्ट छन् ।
हुन त दाहालका गतिविधिबाट पनि ओली सन्तुष्ट छैनन् । अमेरिका भ्रमण र भारतीय तथा चिनियाँहरूसँग दाहालले सम्बन्ध बनाएको विषयमा ओलीलाई मन परेको छैन । दाहालले चीनसँग भन्दा पनि अमेरिका र भारतसँग निकटता बनाएको ओली पक्षको बुझाइ छ ।
ओली निकटका एक नेताका अनुसार दाहालका गतिविधिले ओली सशंकित छन् । अबको एक वर्षपछि दाहाल प्रधानमन्त्री बन्ने गरेर तयारी गरेको ओलीको बुझाइ छ । ओलीले तत्काल सत्ता र पार्टीको नेतृत्व अरु कसैलाई नदिने मुडमा छन् ।
दाहालसँग विगतमा भएको सहमति कार्यान्वयनमा दोस्रो तहका नेताहरूले ओलीलाई दबाब दिइरहेका छन् । पार्टीभित्र ओली अल्पमतमा परेको बताइएपनि हरेक निर्णयमा उनी नै हावी हुने गरेका छन् ।
त्यसो त वैशाख ९ गते रामेछापमा नेकपाले स्थापना दिवस मनाउनु अघि नै समायोजनको अन्तिम खाका तय हुने बताइएको छ । तर, नेताहरूबीच सहमति नहुँदा समायोजन हुने संभावना भने देखिदैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत