कम्युनिस्ट सरकारमाथि कांग्रेसले पहिलो फायर खोल्यो

काठमाडौं । नेपाली कांग्रेसले माध्यामिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र परीक्षा समय अगावै बाहिरिएर समय तालिकाभित्र परीक्षा सम्पन्न हुन नसक्नु कम्युनिस्ट सरकारको गैरजिम्मेवारी, अनुत्तरदायी र नालायकपनको पराकाष्ट रहेको जनाएको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार विज्ञप्ति जारी गरेर कम्युनिस्ट सरकारले प्रश्नपत्र आउट गराएर लाखौँ विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाए ।

‘प्रश्नपत्र बाहिरिएकोमा सरकारका पदाधिकारीले एक अर्कोलाई जिम्मेवारी थोपर्नु सरकार र सरकारका पदाधिकारीहरुको ज्यादै गैरजिम्मेवारी कार्य भएकोले यस घटनाको जिम्मेवारी सरकारले लिनु पर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यसबाट विद्यार्थी र अभिभावकमा पर्न गएको पीडाको लागि सरकारले माफी माग्दै दोषी उपर कारवाही गर्न र स्थगन भएको परीक्षाको अविलम्ब मिति तय गरी परीक्षा सम्पन्न गर्नुका साथै सयममै परीक्षाफल प्रकाशन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’

प्रमुख सचेतक खाँणले भनेका छन्, ‘भर्खरै शिक्षा सेवा आयोगबाट शिक्षकहरूको आन्तरिक परीक्षाको नतिजा प्रकाशन भएको छ । शिक्षा सेवामा अनुत्तीर्ण हुने र परीक्षामा सहभागी हुन नपाएका शिक्षकहरूलाई सरकारले अवकाश दिने निर्णय गरेको छ ।’

नेपाली कांग्रेसले अवकाश हुने शिक्षकहरूको मागको वेवस्ता गर्दै रिक्त हुने शिक्षकहरूको संख्या व्यवस्थापन नगरेको भन्दै आपत्ति जनाएको छ । ‘मावि तह ११०८, निमावि तह १६३५, प्रावि तह ९९९६ गरी कुल १२ हजार ७ सय ३९ शिक्षकलाई अवकाश दिने सरकारको परिपत्र एवं निर्देशन अत्यन्त गैरजिम्मेवारपूर्ण कार्य हो’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस्तो गैरजिम्मेवार कार्यले गर्दा विद्यालयहरूको वार्षिक परीक्षाको अन्तिम नतिजा प्रकाशन गर्ने र सँगैसँगै नयाँ शैक्षिकसत्र प्रारम्भको समयमा विद्यालयमा शिक्षकहरू रिक्त रहने अवस्था सृजना भएको छ ।’

नेपाली कांग्रेसले शिक्षकहरूको मागलाई सम्बोधन गर्दै सामुदायिक विद्यालयमा यथाशीघ्र शिक्षकको व्यवस्थापन गरी विद्यालयको पठनपाठन र शैक्षिक वातावरण कायम गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

कम्युनिस्ट सरकारले हरेक क्षेत्रमा लापरवाही गर्नुका साथै विद्यार्थी, शिक्षकहरूलाई समेत समस्यामा पार्ने कार्य गरेपछि नेपाली कांग्रेसले बाध्य भएर विरोधमा उत्रिएको छ ।

Published : Sunday, 2019 March 31, 6:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया