नेकपा निकटका गुण्डा नाइके चक्रेद्वारा क्यान्टिन कब्जा, प्रहरीले दियो साथ

काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनले शिक्षण अस्पताल महाराजगञ्जको क्यान्टिनलाई कब्जा गरेको खुलासा भएको छ ।

चक्रेले बिगत १४ वर्षदेखि क्यान्टिनदेखि औषधि पसलहरूसम्म आफ्नो कब्जामा राखेको शिक्षण अस्पताल महाराजगञ्जका एक कर्मचारीले जानकारी दिए ।

‘गुण्डा नाइके चक्रे मिलनको डर र धम्कीले शिक्षण अस्पतालले क्यान्टिनलाई उनैका मान्छेलाई टेण्डरमा दिने गरेको छ’, नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने, ‘शिक्षण अस्पताल महाराजगञ्जको क्यान्टिमा दैनिक दुई लाखसम्मको व्यापार हुन्छ ।’

महिनामा झण्डै ६० लाखको व्यापार हुने शिक्षण अस्पतालको क्यान्टिनलाई चक्रेले अत्यन्तै सस्तोमा टेण्डरमा लिएका छन् । चक्रेले मासिक २० हजार मात्रै तिर्ने गरेर क्यान्टिनको टेण्डर लिएका छन् ।

शिक्षण अस्पताल महाराजगञ्जको क्यान्टिनमा चक्रेका भरौटेहरूले दिनभरि सुरक्षा दिने गरेका छन् । क्यान्टिनमा कसैले गडबढी गर्‍यो भने ती गुण्डाहरूले कुटपिट गर्नेदेखि हातखुट्टा भाँच्नेसम्मको धम्की दिने गरेका छन् ।

क्यान्टिनमा चक्रे आफै जाँदैनन् । उनले क्यान्टिनको जिम्मेवारी हेर्न आफ्ना विश्वासिला व्यक्तिहरूलाई जिम्मेवारी दिएका छन् । काठमाडौंको महाराजगञ्ज क्षेत्रमा गुण्डागर्दी गर्दै आएका चक्रेलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पनि समर्थन र साथ रहेको छ ।

नेकपाका नेता प्रदीप नेपाललाई आफ्नो भिनाजु बताउने गरेका चक्रे मिलनले सत्ताको चरम दुरुपयोग गरेका छन् । उनले प्रदीप नेपालको नाम लिएर अहिले पनि काठमाडौंमा धम्की र गुण्डागर्दी गर्दै आएका छन् ।

बेलाबेला अपहरण, जरजस्ती अबैध असुली, हत्या, फिरौती लगायतका काण्डमा पक्राउ पर्दै आएका चक्रेलाई प्रहरीले उच्च निगारनीमा राख्दै आएको छ । यद्यपि चक्रे मिलनले महारजागञ्जको प्रहरीसँग सेटिङ मिलाएर बच्दै आएका छन् ।

शिक्षण अस्पताल महाराजगञ्जको अस्पतालको क्यान्टिनको टेण्डर लिने विषयमा पूर्वमाओवादी पृष्ठभूमि भएका नेताहरूले पहल गरेपछि चक्रेले क्यान्टिनको टेण्डर आफूले भन्दा बाहिरका व्यक्तिलाई नदिने गरेको खुलासा भएको हो ।

यसअघि शिक्षण अस्पतालको क्यान्टिन बाहिरको व्यक्तिलाई दिने प्रयास गरिएको थियो । तर, चक्रेका गुण्डाहरूले टेण्डरमा भाग लिन खोज्ने व्यक्तिलाई धम्की दिने, अपरहण गर्ने, कुटपिट र अन्य खालका दबाब दिएपछि बाध्य भएर शिक्षण अस्पतालको टेण्डर छाडेर भाग्ने गरेका थिए ।

त्यसपछि चक्रेले त्यो टेण्डर आफ्ना केटाहरूमार्फत लिने गरेको खुलासा भएको छ ।

गुण्डा नाइके चक्रेले शिक्षण अस्पताल परिसरमा रहेका औषधि पसलहरूमा पनि दब्दबामा राख्दै आएका छन् । चक्रेकै स्वार्थमा अस्पतालका सटरहरू बिक्री हुँदै आएको ती कर्मचारीले बताए । उनले विना लगानी ती सटरहरूबाट अबैध रुपमा वार्षिक रुपमा लाखौं कमाउँदै आएका छन् ।

Published : Thursday, 2019 March 28, 7:34 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया