प्रहरी र विप्लव समूहबीच गोली हानाहान, चारजना पक्राउ
अछाम । अछामको रामारोशन गाउँपालिको झाता गाउँमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच दोहोरो फायरिङ भएको छ ।
मंगलबार विप्लव समूहका कार्यकर्ता झाता गाउँमा रहेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।
विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि पहिला फायरिङ गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप फायरिङ गरेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार विप्लवका कार्यकर्तालाई लक्षित गरी प्रहरीले नै ७ राउण्ड हवाई फायर गरेको थियो ।
प्रहरीले नेकपाका चार जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेमसंघ क्रान्तिकारीकी भूमिसरा धामी र युवा संगठनकै राजेन्द्र धामी रहेका छन् ।
प्रहरीको घेराबन्दीबाट भाग्ने क्रममा नेकपा अछामका ईन्चार्ज शेर बहादुर बिक ‘दर्शन’ को खुट्टामा चोट लागेको नेकपाले दाबी गरेको छ ।
मंगलबार दिउँसो करीव १ बजेतिर विप्लव समूहका कार्यकर्तालाई पछ्याउँदै प्रहरी झाता पुगेको थियो ।
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हतियारसहित रामारोशनमा बसिरहेको विशेष सूचनका आधारमा त्यहाँ पुगेको प्रहरीले स्रोतले जनाएको छ ।
विप्लव नेतृत्वको सेना अछाम प्रवेश गरेको आशंकामा सोमबार अछामको गैरीटाडमा सेनाको बाक्लो उपस्थिति देखिएको स्थानीयले बताएका छन् ।
यता, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्वद्ध जनपरिषदका तमुवान प्रदेश संयोजक किसानसिंह तमु पक्राउ परेका छन् ।
उनलाई मंगलबार कास्की प्रहरीले पोखरा लेखनाथस्थित निवासबाटै पक्राउ गरेको हो ।
निर्माण व्यवसायी तमु पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा थिए । उनी लेखनाथ निर्माण व्यवसायी समिति पूर्वअध्यक्ष समेत हुन् ।
उनकै निर्देशनमा विप्लवका कार्यकर्ताले लेखनाथ पट्नेरीमा रहेको व्यवसायी अजयराज सुमार्गीको मुक्तिश्री कम्पनीका नाममा रहेको २५ रोपनी जग्गा कब्जा गरेको जनाएको छ ।
सो पार्टीले केही दिनअघि सुमार्गीको जग्गामा झण्डा गाडेर कब्जा गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत