विप्लव समूहलाई प्रतिबन्ध होइन वार्ता गर्नुपर्छः दीपक गिरी
घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई वार्ता र संवादमार्फत राज्यको मूलधारको राजनीतिमा ल्याउन कम्युनिस्ट सरकारलाई आग्रह गरेका छन् ।
गृहजिल्ला दाङमा स्थानीय सञ्चारमाध्यमका पत्रकारहरूसँग मंगलबार कुरा गर्दै नेता गिरीले लोकतन्त्रमा सबै विचार समूहको सम्मान हुनुपर्ने बताए । विप्लवको नेकपालाई प्रतिबन्ध लगाएकोमा उनले आपत्ति जनाए ।
‘निषेध हैन, संवादमार्फत विप्लवको समस्या हल गर्न सरकार लाग्नु नै बुद्धिमानी हुनेछ’, नेता गिरीले भने, ‘विप्लवजीले गरेको हिंसामा कांग्रेसलाई स्वीकार्य छैन । तर, सरकारले पनि उनीहरूलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन वार्ता गर्नुपर्छ ।’
कांग्रेस नेता गिरीले लोकतन्त्र र शान्ति प्रक्रियाका नायक गिरिजाबाबुले तत्कालीन समयमा सशस्त्र द्वन्द्वरत माओवादीलाई वार्ता र संवादको माध्यमबाट नै राज्यको मूलधारमा ल्याएको स्मरण गर्दै निषेधको राजनीतिले झन् प्रतिउत्पादक हुन सम्भावना रहने बताए ।
हत्या, हिंसा र बम विस्फोट जस्ता कार्यले नेपाल र नेपालीको मात्रै क्षति हुने उनको भनाइ छ । आफ्ना एजेण्डाका साथ खुल्ला रुपमा जनताको माझमा आउन विप्लवलाई नेता गिरीले आग्रह गरेका छन् ।
निर्मला हत्या काण्ड, वाइड बडी, होली वाइन, सुनकाण्डजस्ता घटनाहरूका कारण कम्युनिस्ट सरकार अलोकप्रिय बन्दै गएको गिरीले बताए । ‘यो कम्युनिस्ट सरकार हामी (कांग्रेस)ले ल्याएका विकासे योजनाहरूमा रजाइँ गरिरहेको छ’, कांग्रेस नेता गिरीले भने, ‘यत्ति बुझ्नुहोस् उसै (नेकपा)का मतदाता वाक्कदिक्क भइसकेका छन् ।’
कांग्रेस नेता गिरीले बिखण्डनकारी मुद्धा बोकेर हिँडेको सीके राउतसँग भएको सम्झौंतामा सरकार नराम्रोसँग चुकेको बताए । ‘सम्झौताले भ्रम पैदा भएको छ, त्यो अन्यौंंलता चिर्न सरकार लाग्नुपर्छ’, नेता गिरीले भने ।
आफूलाई ठूलो राष्ट्रियतावादी ठान्ने खड्गप्रसाद ओलीका गतिविधि हाल आएर राष्ट्रहित विपरीत रहेको गिरीले बताए । उनले अहिले आएर ओलीको राष्ट्रवाद नाङ्गिएको बताए ।
दुई तिहाइको कम्युनिस्ट सरकार अलमलिएको बताएका नेता गिरीले मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए ।
कांग्रेस नेता गिरीले टरिगाउँ एयरपोर्टमा गैरकानूनी रुपमा हवाईजहाज उडान भइरहेको भन्दै चिन्ता जनाएका छन् । ‘विश्वमा कहीँ कतै उडान नपाउने विमान यही गैरकानूनी रुपमा उडाइएको छ’, नेता गिरीले भने ।
टरिगाउँ विमानस्थललाई नेपालकै ‘ए’ क्लासको डोमेस्टिक एयरपोर्टका रुपमा विकास गर्न सकिने दाबी गरेका उनले यसको इतिहाँस समाप्त पार्ने षड्न्त्र भए त्यो नेपाली कांग्रेसलाई सैह्य नहुने चेतावनी दिए ।
‘पहिला टरिगाउँ एयरपोर्टको विकास गरियोस्, त्यसपछि बल्ल अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण गरियोस्’, नेता गिरीले भने ।
आफू मन्त्री हुँदा झन्डै एक महिना लगाएर धावन मार्ग विस्तारको लागि डिटेल सर्भे भएको भएपनि पछि त्यो कामलाई अगाडि नबढाइएको भन्दै आक्रोश प्रकट गरे ।
कांग्रेस नेता गिरीले आफू मन्त्री भएका बेला शुरु भएको बृहत दाङ सिचाइँ आयोजनाको काम अगाडि बढाउन सरकारले आनाकानी गरेको भन्दै असन्तुष्टि जनाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत