सुदूरपश्चिममा ओली–प्रचण्डको पार्टीमा फेरि पहिरो गयो

बैतडी । बैतडी जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नयाँ शक्ति पार्टी नेपाल परित्याग गरी झण्डै तीन सय स्थानीय नेता र कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपाका नेता गंगादत्त भट्टसहित २ सय ९१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपाका नेता भट्टसहित २ सय ७४ जना र नयाँ शक्तिका बुद्धिबल्लभ धानुकसहित १५ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले दशरथ चन्द नगरपालिकाको कलौनमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले नवप्रवेशीहरूलाई सदस्यता वितरण गरेका थिए ।

नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेता लेखकले कम्युनिस्ट सरकारप्रति वितृस्णा र निराश भएकाले कांग्रेसप्रति जनताको आकर्षण बढदै गएको बताए ।

लेखकले देशभरि कांग्रेस प्रवेश गर्नेको लहर चलेको समेत दाबी गरेका छन् । नवप्रवेशीलाई योग्यता र क्षमताको आधारमा उचित स्थान दिने प्रतिबद्धता समेत कांग्रेस नेता लेखकले जनाएका छन् ।

कांग्रेसमा प्रवेश गरेका नेकपाका नेता तथा कार्यकर्ताहरूले नेकपाका अध्यक्ष समेत रहेका खड्गप्रसाद ओली र दोस्रो तहका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’भित्र निरंकुशता र सत्ताको लोभ हाबी भएपछि आफूहरूले पार्टी छाडेको बताए ।

Published : Tuesday, 2019 March 26, 10:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया