अमेरिका बस्दै आएका डा.गुरुङको समाजसेवी कदमले थोचेका जनता खुसी
मनाङ्ग । हिमाल पारी मनाङ्गको दुर्गम गाउँको स्वास्थ्य चौकीमा एमवीवीएस डाक्टर पुग्ने भएका छन् ।
तीन दशक अघि विदेशिएका मनाङ्गका एक स्थानीयले जन्मथलो सम्झदै गाउँको स्वास्थ्य चौकीमा एमवीवीएस डाक्टरसहितको मेडिकल टोली राख्ने भएका हुन् ।
एक स्वास्थ्य सहायकको भरमा रहेको नासोङ्ग गाउँपालिकास्थित थोचे स्वास्थ्य चौकीमा दक्ष जनशक्ति राख्नका लागि मनाङ्गबाटै विदेशिएका डा.देवी गुरुङ्गले पहल गरेका हुन् ।
चौकीमा आयोजित एक कार्यक्रममा डा.गुरुङले नेतृत्व गरेका हिमालयन फेमिली हेल्थकेयरले चिकित्सकसहित अन्य जनशक्ति उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
मनाङ्गको तल्लो भेग तिलिचोमा जन्मिएका देवी करीव तेत्तीस वर्षअघि संघर्ष गर्दै अमेरिका पुगेका थिए ।
त्यहाँ पिएचडीसम्मको अध्ययन पूरा गरी जन्मथलोकै स्वास्थ्य अवस्था सुधार्न केही वर्ष अघिदेखि उनी नेपाल आउँदै फर्कदै गर्न थालेका हुन् ।
उनी थोचे हुँदै आफ्नो जन्मघर तिल्चे समेत पुगेका थिए । त्यहाँ उनलाई स्थानीय गाउँले र दाजुभाईहरूले भव्य स्वागत गरेका थिए ।
स्थानीय अगुवा, समाजसेवी र शिक्षकहरूले उक्त क्षेत्रको विकासमा कसरी सहयोग गर्न सकिन्छ भनेर डा.गुरुङसँग छलफल समेत गरेका थिए ।
सम्झौता अनुसार हिमालयन फेमिलीले उक्त चौकीमा एक एमवीवीएस डाक्टर, बरिष्ठ नर्स, स्वास्थ्य सहायक र औषधि समेत उपलब्ध गराउने भएको छ ।
दुई महिना हिउ पर्ने उक्त क्षेत्रमा बाँकी दश महिनाका लागि ती सेवा उपलब्ध गराउन तेत्तीस लाख रुपियाँ लाग्नेछ । उक्त रकम डा.देवीको अगुवाईमा उपलब्ध गराउन लागिएको हो ।
‘यो असाध्यै ठूलो सहयोग हो । दुर्गमका वासिन्दाको स्वास्थ्यमा समस्या पर्दा निकै राहत हुनेछ’, कार्यक्रममा स्थानीय अगुवा धोर्जे डण्डुल गुरुङ्गले बताए । उनले जन्मथलो फर्किएर देवीले जिल्लाबासीलाई समेत ठूलो गुण लगाएको बताए ।
उनले भने, ‘पहिले धेरै दुख पाएका डा.गुरुङले आफू सक्षम भएपछि गाउँको स्वास्थ्य सुधार्ने लक्ष्यसाथ काम थालेका छन् । हामी सदैव साथ दिनेछौं ।’
उक्त क्षेत्रमा दक्ष चिकित्सकसहितको चौकी हुँदा अन्नपूर्ण र मनास्लु पदयात्रीलाई समेत सजिलो हुनेछ । यो क्षेत्रमा वार्षिक करीव तीस हजार पर्यटक घुम्ने गरेको तथ्यांक छ ।
उनीहरू दुर्घटनामा पर्दा वा आकस्मिक रुपमा केही बिरामी हुँदा हेलिकप्टरबाट पोखरा वा काठमाडौं लानुपर्ने अवस्था छ ।
‘गाउँमै डाक्टर हुने भएपछि यो समस्या पनि टर्नेछ’, स्थानीय सोमी गुरुङ्गले खुशी हुँदै भनिन् । कार्यक्रममा डा.गुरुङ दम्पत्तिले थोचे र तिल्चेका दुई विद्यालयलाई एक एक वटा ल्याप टप समेत वितरण गरेका थिए ।
कार्यक्रममा डा.देवीले टुहुरो हुँदा आफू र परिवारले ठूलो संघर्ष गर्नुपरेको, काठमाडौंमा भाडा माझेर बसेको र त्यही क्रममा एक ‘गडफादर’मार्फत अमेरिका पुगेको प्रसंग झिकेका थिए ।
गाउँमै अस्पताल नै बनाउने अभियान शुरु गरेको र त्यसका लागि ७ रोपनी जग्गा समेत यसअघि किनिसकेको उनले जानकारी दिए ।
उनकी श्रीमती कोनीले आफ्नो माइती कोरिया र कर्मथलो अमेरिका भएपनि पतिको जन्मथलोमा आएर सेवा गर्न पाउँदा बेग्लै खुशी भएको सुनाइन् ।
‘म जहा जन्मे हुर्के पनि मेरो श्रीमानको समाजसेवामा लाग्ने इच्छा पूरा गर्नु कर्तव्य सम्झेर पटक पटक मनाङ्ग आउने गरेको छु’, श्रीमती कोनीले भनिन् ।
स्वास्थ्य चौकीलाई सुविधासम्पन्न बनाउने र पछि अस्पताल समेत बनाउने विषयमा उनीहरूले नासोङ्ग गाउँपालिकाका अध्यक्ष चन्दबहादुर घलेसग समेत छलफल गरेका थिए ।
घलेले डा.गुरुङको सक्रियतालाई आफूहरूले साथ दिने बताएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत