प्रविधिको प्रयोगले सडकमा प्रहरीको उपस्थिति न्यूनिकरणः आइजीपी खनाल

झापा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रविधिको उपलब्धताको कमीको कारण प्रहरी सडकमै उपस्थित भइरहनुपर्ने अवस्था अन्त्य गर्न प्रविधि र उपकरणको प्रयोग गरी सडकमा प्रहरीको उपस्थितिलाई न्यूनिकरण गर्ने अभियानमा लाग्ने बताएका छन् ।

झापाको बिर्तामोडमा बिहीबार आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक खनालले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास गर्दै प्रतिकात्मकरुपमा नम्बर १ प्रदेशका ५ जना चालक र सहचालकलाई चालक ड्रेसकोड लगाई नम्बर १ प्रदेशको १५ दिने सडक दुर्घटना न्यूनिकरण अभियानको शुभारम्भ समेत गरे ।

नेपाल नामक संस्थाको अगुवाईमा बिर्तामोड नगरपालिकाभित्र रहेका विभिन्न संघसंस्थाबाट प्राप्त १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाईजर र १० वटा सवारी साधन ह्विललक ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

प्रहरी महानिरीक्षक खनालले प्रहरीको सडकमा उपस्थिति सम्बन्धी वस्तुस्थिति प्रस्तुत गर्दै विकसित मुलुकमा प्रविधिको प्रयोगले सडकमा प्रहरीको उपस्थितिलाई विस्थापन गरेको बताए । उनले भने, ‘हाम्रो जस्तो मुलुकमा प्रविधिको उपलब्धताको कमिको कारण प्रहरी सडकमै उपस्थित भइरहनुपर्ने अवस्था छ ।’

प्रविधिको प्रयोग सँगसँगै सडकमा उपस्थित हुने प्रहरी क्रमशः घट्दै गई सडक प्रयोगकर्ता र प्रहरीबीचको द्वन्द्व न्यूनिकरण हुने विश्वास खनालले व्यक्त गरे ।

समुदाय सुरक्षित राख्ने प्रहरीको अभियान रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यसका लागि आमनागरिकको सहयोग र प्रतिबद्धता आवश्यक रहेको बताए ।

ट्राफिक प्रहरीलाई साधन स्रोत सम्पन्न बनाई दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने गरी प्राप्त यस सहयोग अन्य जिल्लाका लागि समेत अनुकरणीय हुने उनले बताए ।

नेपाल प्रहरी शान्ति सुरक्षाका सवालमा समाजका हरेक समस्याहरुलाई स्थानीय तह, विभिन्न सरकारी तथा गैरसरकारी निकाय एवं संघसंस्थाह–को सहकार्यमा संस्थागत रुपमा अघि बढ्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको आइजीपी खनालले चर्चा गरे ।

महिला हिंसा, सडक दुर्घटना न्यूनिकरण, लागूऔषध लगायत संगठनका विविध प्राथमिकताका विषयमा नेपाल प्रहरीले सूचना, सचेतना तथा साझेदारिताका कार्यक्रम राखेको उनले बताए ।

अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले धन्यवाद व्यक्त गर्दै ट्राफिक प्रहरीलाई प्राप्त सहयोगले आगामी दिनमा ट्राफिक प्रहरीलाई काम गर्ने वातावरण मिल्ने र काममा थप प्रभावकारिता हुने विश्वास व्यक्त गरे ।

सडक दुर्घटना न्यूनिकरणमा उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक राजेश राई तथा सडक दुर्घटना न्यूनिकरण महाअभियानमा सहयोग गर्ने बैंक, वित्तीय संस्था जस्ता विभिन्न क्षेत्रका महानुभावहरूलाई उक्त अवसरमा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

सहारा नेपालका झापा जिल्ला प्रमुख महेन्द्र गिरीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटी, जिल्लास्थित विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु, उद्योगी, व्यवसायी, शिक्षक, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2019 March 14, 7:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया